काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले फेक रेस्क्यु प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । प्रारम्भिक अनुसन्धानमा ५० भन्दा धेरैको यसमा संलग्नता देखिएपनि १० जना मात्र पक्राउ परेका छन् । कतिपय पहुँचवालाहरु अझै बाहिरै छन् ।
त्यस्तैमध्ये एक हुन् एयर डायनेष्टिका मालिक श्यामसुन्दर कँडेल । उनी यो गिरोहका मुख्य व्यक्तिमध्ये एक हुन् । तर, सीआइबीले अझै पक्राउ गर्न सकेको छैन ।
स्रोतका अनुसार नेपाल विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहले उनलाई भगाएका हुन् । सिंह भने पक्राउ परिसकेका छन् ।
कँडेलको सबै सम्पत्ति समेत अझै रोक्का भइसकेको छैन । उनको एयर डायनेष्टिसहित फ्लाइट कनेक्सन इन्टरनेशनल, होटल ग्रिन पार्क चितवन, श्वाकन इन्टरनेशनल हस्पिटल, बागमती फाइबर एण्ड मेटल, ज्वाइन्ट भेन्चर इन्भेष्टमेन्ट कम्पनी, ट्रष्ट नेष्ट रियल स्टेट, गोल्डेन फाम्र्स लगायत कम्पनीमा लगानी छ ।
फेक रेस्क्युको धन्दाबाटै उनले अर्बौं सम्पत्ति आर्जन गरेको सूचना प्रहरीको छ । पर्यटकको उद्धारको नाममा हुने यस्तो ठगीमा संलग्न सबैको सम्पत्ति समेत छानबिन गर्ने निर्णय भइसकेको छ । तर, कँडेल भने फरार रहेकै अवस्थामा केही सम्पत्ति लुकाउन सफल भएको स्रोत बताउँछ ।
कँडेलले राष्ट्रिय स्वतन्त्र पार्टीकै केही नेताहरुमार्फत आफू जोगिनका लागि सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालसम्म कुरा पुर्याइसकेको स्रोत बताउँछ ।
तर, सीआईबी प्रमुख एआईजी मनोज केसीले भने कँडेल जस्ता फेक रेस्क्यु धन्दा गिरोहका ‘ठूला माछा’ लाई पक्राउ गर्न सक्छन कि सक्दैनन् ? पर्खाइको विषय बनेको छ ।
कँडेलले फेक रेस्क्युबाटै कमाएको अवैध रकमले चितवनमा मात्र एक अर्ब भन्दा बढीको जग्गा खरिद गरेको स्रोत बताउँछ ।
सीआइबीले धुम्बाराहीको ह्याम्स अस्पताल, सोह्रखुट्टेस्थित एरा इन्टरनशेनल अस्पताल र बत्तीसपुतलीस्थित श्वाकन
अस्पतालमाथि पनि छानबिन गरिरहेको छ । तर, अस्पतालका सञ्चालकहरु भने पक्राउ परेका छैनन् ।
ह्याम्सका मालिक रामशरण(आरएस) भण्डारी हुन् । आफ्नो अस्पताललाई मुद्दाबाट जोगाउन उनी प्रयाससरत छन् ।
श्वाकन अस्पतालमा लगानी गर्ने माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमाल पक्राउ परिसकेका छन् । सो अस्पतालमा श्यामसुन्दर कँडेलको पनि लगानी छ ।
सीआइबीले यस प्रकरणमा एक महिनाअघि माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलिया र श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालाई सिआइबीले पक्राउ गरिसकेको छ ।
विमान सेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडे एडभेन्चरका सञ्चालक सन्दीप तिवारी तथा पानोरमा ट्रेकका पासाङ शेर्पालाई पनि पक्राउ गरिसकेको छ ।
गिरोहका कतिपय ठूला नाइकेहरु भने अझै पक्राउ परेका छैनन् ।