काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका चारजना डीआईजीको पदावधि एक वर्ष थप्ने निर्णय गरेको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजी प्रदीप पाल, लक्ष्मण सिंह, डा. रूपक महर्जन र इ.सन्दीप थापाको पदावधि थप गर्ने निर्णय गरेको हो ।
सशस्त्र प्रहरीमा डीआईजीको पदावधि चार वर्ष रहने र कार्यसम्पादन सन्तोषजनक भएमा थप एक वर्ष बढाउन सकिने व्यवस्था छ। सोही प्रावधानअनुसार चारै जनाको पदावधि विस्तार गरिएको हो ।
पदावधि थप गरिएका अधिकारीमध्ये डा. महर्जन र थापा प्राविधिक समूहका हुन् भने पाल र सिंह प्रशासनतर्फका अधिकारी हुन् ।
पाल र सिंह भने यसअघि नेपाल प्रहरीको प्राविधिकतर्फ सई पदमा भर्ना भई पछि सशस्त्र प्रहरीमा स्थानान्तरण भएका अधिकारी हुन्।
पदावधि थप भएसँगै अब रिक्त हुने एआईजी पदमा उनीहरूमध्येबाटै बढुवा हुने सम्भावना देखिएको छ ।