काठमाडौं। आज नेप्से ५४.५१ अंकले बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा १.८९ प्रतिशतले बढेको नेप्से २९३१.५५ विन्दुमा रोकिएको हो।
नेप्सेमा आज ३६४ कम्पनीको दुई लाख चार हजार ९५५ पटकको कारोबारमा ६ करोड १४ लाख सात हजार ७४ कित्ता सेयर किनबेच भए। जसअनुसार २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ रुपैयाँको कारोबार भयो।
आज १८३ कम्पनीको सेयर मूल्य बढ्यो। ७३ कम्पनीका सेयर मूल्य ओरालो लाग्दा आठ कम्पनीका सेयर मूल्य स्थिर रहे। १३ समूहको कारोबार भएकामा व्यापार समूहको सूचक ०.११ प्रतिशतले घट्यो भने बाँकी १२ समूहका उपसूचक हरियाली बने।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक २.४९‚ विकास बैंक २.४६‚ फाइनान्स २.१३‚ होटेल तथा पर्यटन ३.०५‚ जलविद्युत् ०.३३ तथा लगानी समूहको उपसूचक ०.७७ प्रतिशतले बढ्यो।
यसैगरी जीवन बिमा २.००‚ उत्पादन तथा प्रशोधन १.९३‚ लघुवित्त समूह ४.२१‚ म्युचुअल फन्ड १.२४‚ निर्जीवन बिमा २.७२ र अन्य समूहको सूचक १.७१ प्रतिशतले बढेको छ। व्यापार समूहको सूचक भने ०.११ प्रतिशतले घट्यो।
६ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। सकारात्मक सर्किट लाग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक‚ साल्पा विकास बैंक‚ रिलायन्स स्पिनिङ मिल्स‚ अभियान लघुवित्त‚ सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेड छन्। अर्थात् यी छ कम्पनीका लगानीकर्ताले १० प्रतिशतले आम्दानी गरे।
यस्तै एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताले भने ५.७१ प्रतिशतले घाटा बेहोरे।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी कुमारी बैंक लिमिटेडको ८५ करोड ९६ लाख १५ हजार ६८३ रुपैयाँको कारोबार भएको छ। त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि सबैभन्दा बढी कुमारी बैंकको सेयर ३५ लाख ४६ हजार ८५३ कित्ता किनबेच भएको छ। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २४३ रुपैयाँ कायम रह्यो।