'२०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ'
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
केन्द्री समिति बैठकलाई पार्टी कार्यालय सानेपामा मंगलबार सम्बोधन गर्दै थापाले नेपालमा सुशासन, विकास र सेवाप्रवाहको गति पहिलाको भन्दा चार गुणा हुनुपर्ने भन्दै प्रतिपक्षमा रहे पनि सरकारालाई आफूहरुको साथ रहने बताएका हुन्।
थापाले २०४६ देखि २०८२ सम्म सार्वजनिक पदमा बसेका सबैको सम्पति छानबिन गर्नुपर्ने र स्रोत नखुलेको पाइए जफत गर्नुपर्ने बताए। यसमा अब बन्ने सरकारलाई कांग्रेसको पूर्ण साथ रहने थापाले बताए।
थापाले भने- 'अब सुशासन, विकास र सेवाप्रवाह तीब्र गतिमा जानुपर्छ तर दुर्घटनामा पर्नुहुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षका निम्ति ड्राइभिङ सिटमा बस्ने जिम्मेवारी पाएको छ। ‘यसमा नेपाली कांग्रेसको पूर्ण साथ रहन्छ। गति बढाउने ठाउँमा दबाब हुन्छ, अफ्ठेरो ठाउँमा प्रोत्साहन पनि रहन्छ।'
विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उनले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानुनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए ।
उनले थप भने- '२०४५ सालयता सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ । यदि अवैध छ भने त्यो जफत गर्नुपर्छ । हामीले निर्वाचनमा जाँदा यो विषय उठाएका थियौँ । रास्वपाले पनि भनेको थियो । अब हाम्रो माग यो रहन्छ ।'