काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले जेनजी आन्दोलनबारे गठित गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै भदौ २४ गतेका विध्वंसात्मक घटनालाई विस्मृतिमा धकेल्न खोजिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिहरू अन्ततः कठघरामा उभिनुपर्ने भए पनि त्यो प्रक्रिया एकतर्फी हुन नहुने स्पष्ट पारेका हुन् ।
'इतिहासले जवाफ मागेका पात्र र प्रवृत्तिले कठघरामा उभिएर जवाफ त देलान् नै, तर त्यो एकतर्फी हुन सक्दैन,' उनले उल्लेख गरेका छन्।
उनले घटनाहरूलाई केवल एक कोणबाट मात्र विश्लेषण गर्दा वास्तविकता ओझेलमा पर्ने खतरा औँल्याउँदै कारण, परिणाम र प्रभावसँगै अन्य पक्षहरूको पनि समग्र मूल्यांकन आवश्यक रहेको बताएका छन्।
'घटनाहरू स्वतन्त्र कारणले देखापरे पनि तिनीहरू एक्ला हुँदैनन्,' उनले लेखेका छन्, 'कारण, परिणाम र प्रभावसँगै अर्को पक्ष पनि सँगै हुन्छ।'
बास्कोटाले विशेषगरी भदौ २४ गतेका आगजनी, तोडफोड र हिंसात्मक गतिविधिहरूलाई प्रतिवेदनले पर्याप्त रूपमा सम्बोधन नगरेको संकेत गर्दै त्यसलाई इतिहासबाट मेट्न नसकिने दाबी गरे।
'कार्की आयोगले २४ गते विस्मृतिमा धकेल्न खोजे पनि सम्भव छैन,' उनले भने।