काठमाडौं । नेकपा एमालेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको न्यायीक आयोगको प्रतिवेदन अस्वीकार गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि आकस्मिक रुपमा बसेको सचिवालय बैठकले कार्की आयोगको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको हो।
कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायीक सिद्धान्त विपरीत रहेको ठहर गर्दै बहालवाला सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा अर्को न्यायीक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको महासचिव शंकर पोखेरलले जानकारी दिए ।
उनले भने- 'आज विहान सूर्योदय नहुँदै हाम्रो पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारी पूर्णत प्रतिशोतपूर्ण, पूर्वाग्रही र कानुनी शासनको मर्म विपरित छ। तसर्थ उक्त घटनाको छानबिनका लागि सर्वोच्च अदालतको बहालवाला न्यायाधिशको अध्यक्षतामा छानविन आयोग गर्न माग गर्दछ।'
कार्की नेतृत्वको आयोगको सिफारिसमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित आ-आफ्नो निवासबाट पक्राउ गरेको थियो।
उनीहरूको गिरफ्तारीलाई एमालेले लोकतान्त्रिक मूल्य र कानूनी शासनको विपरीत रहेको भन्दै भोलिदेखि देशब्यापी आन्दोलन गर्ने निर्णय पनि गरेको छ।
बैठकपछि सञ्चार मध्यमहरूलाई प्रतिक्रिया दिँदै महासचिव शंकर पोखरेलले पार्टी निकट भातृ संगठनहरूले भने आजैदेखि विरोध प्रदर्शन शुरू गर्ने भनेका छन् । बिहानैदेखि विभिन्न ठाउँमा ओली पक्राउको विरुद्धमा नारा पनि लाग्न सुरु भएको छ ।