काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आधिकारिक तस्बिर एकैदिन दुई पटक सार्वजनिक भएपछि यसको कारणबारे चासो र चर्चा बढेको छ।
प्रधानमन्त्रीको सचिवालयले मंगलबार केही घण्टाको अन्तरालमै फरक–फरक दुई संस्करण सार्वजनिक गरेको थियो । प्रारम्भिक तस्बिरमा बालेनले लगाएको चस्मामा एक निजी कम्पनीको ब्राण्ड स्पष्ट देखिएको थियो ।
सरकारी प्रयोजनका लागि प्रयोग हुने तस्बिरमा कुनै पनि व्यावसायिक ब्राण्ड देखिनु उपयुक्त नमानिने भएकाले उक्त तस्बिर संशोधन गर्नुपर्ने निष्कर्षमा सचिवालय पुगेको स्रोतले जनाएको छ ।
त्यसपछि सचिवालयले चस्मामा देखिएको ब्राण्ड हटाएर पुनः तस्बिर सार्वजनिक गरेको हो। दोस्रो संस्करणमा ब्राण्ड हटाइएको छ भने अन्य सबै विवरण यथावत् राखिएको छ ।