काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा दमन गरेको कसुरमा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन थालिएको छ ।
प्रहरीको नियन्त्रणमा रहेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिन शुरु गरेका हुन् ।
पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकरुले अस्पताल बाहिर लैजान नमिल्ने राय दिएपछि ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान पूरा भएको छ । लेखकको बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
पक्राउ परे लगत्तै टिचिङ पु्याइएका उनलाई सुरुमा अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको थियो । त्यहाँ उनलाई नेफ्रोलोजी टिमका डाक्टर रविन नेपालीसहितको टोलीले स्वास्थ्य जाँच गरेको थियो ।
मुटु सम्बन्धी डाक्टरले पनि उनको जाँच गरेका थिए । रगत जाँच, भिडियो एक्सरे लगायतका परीक्षण गरिएपछि ओलीलाई एनेक्स वानको ५०१ नम्बर बेडमा भर्ना गरेर उपचार भइरहेको छ ।
ओली र लेखकको म्याद थप पनि आज भचुृअल माध्यमबाट गरिएको थियो ।