काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको आन्तरिक तनावका बीच कार्यकर्तालाई एकताबद्ध रहन आग्रह गर्दै पाँच बुँदे सन्देश पठाएका छन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका ओली हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् ।
सोही अवस्थाबाट उनले पार्टीपंक्तिलाई सन्देश पठाएको हुन् । पार्टीभित्र आपसी टकराव बढ्न थालेपछि अध्यक्ष ओलीले एक अनलाइनमार्फत सन्देश पठाएका छन् । ओलीले कार्यकर्तालाई संयमता अपनाउन, एकता कायम राख्न र सत्यतथ्य बाहिर आउनेमा विश्वास गर्न आग्रह गरे ।
ओलीले भदौँ २३/२४ गतेका घटनाको सत्य छिट्टै सार्वजनिक हुने उल्लेख गर्दै एमालेमाथि विगतदेखि निरन्तर प्रहार हुँदै आएको बताएका छन्। उनले पार्टीलाई कमजोर बनाउन विभिन्न प्रयास भए पनि त्यसलाई परास्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
सन्देशमा उनले संघर्षलाई निरन्तरता दिन, सत्यको पक्षमा दृढ रहन र असत्यका सामु नझुक्न निर्देशन दिएका छन्। साथै, राष्ट्रियता र समृद्धिको यात्रामा षड्यन्त्रहरू भइरहे पनि त्यसलाई सामना गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
ओलीले कार्यकर्तालाई विरोधीको ‘मसाल’ नबन्न चेतावनी दिँदै यथार्थ उजागर गर्न अझ सशक्त र एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्।