धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग उठेको छ ।
विशेष समयमा बोल्दै नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल ले सरकारले निर्दोष नेताहरूलाई पक्राउ गरेर मानवअधिकार उल्लंघन गरेको आरोप लगाए ।
उनले २३ र २४ गते भएका घटनामा संलग्नता प्रमाणित नभएको दाबी गर्दै ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरे।
'देश अराजकतावादतर्फ धकेलिँदैछ, विधिको शासन अन्त्य हुँदै गइरहेको छ,' रावलले संसदमा भने, 'कुनै ठोस प्रमाणबिना पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई थुनामा राख्नु गम्भीर विषय हो।'
रावलले घटनामा संलग्न वास्तविक दोषीहरूको पहिचान गरी कडा कारबाही गर्न पनि सरकारसँग माग गरे। उनले संसद भवनदेखि निजी घरसम्म आगजनी गर्नेहरूको खोजी भइरहेको उल्लेख गर्दै आफ्नै घर जलाउन संलग्न व्यक्तिहरूको विस्तृत विवरण आफूले संकलन गरिसकेको जानकारी दिए।