काठमाडौं । सरकारी विद्युतीय बोलपत्र प्रणाली (ईबिडिङ) नै ह्याक गरेर ठेक्काका विवरण हेरफेर गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र साइबर ब्युरोको संयुक्त टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा धनकुटा पाख्रीबासका ३३ वर्षीय दिवाकर देउजा, बझाङ दुर्गाथलीका २५ वर्षीय भरत धामी, तनहुँ बन्दीपुरका ३९ वर्षीय संजय भट्ट, काठमाडौँ बानेश्वरका ३५ वर्षीय भाष्करराज अर्याल, मकवानपुरका ४० वर्षीय सागर कटुवाल र सुनसरी दुहबीका ६२ वर्षीय जीवनकुमार दास रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले ठेक्कापट्टासम्बन्धी आर्थिक प्रस्ताव खोलिनुअघि नै प्रणालीभित्र प्रवेश गरी कागजातहरू परिवर्तन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसले प्रतिस्पर्धात्मक प्रक्रियामै असर पार्ने गरी मिलेमतो भएको आशंका गरिएको छ।
साइबर ब्युरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा उनीहरूले ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अघि नै संवेदनशील विवरणमा पहुँच पुर्याई हेरफेर गरेको भेटिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको सिआइबीका प्रवक्ता तथा एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए । सडक, खानेपानी, सहरी विकास मन्त्रालय, आयल निगम, सर्वोच्च अदालत, प्रहरी एकेडेमी, विभिन्न जलविद्युत आयोजनाहरु लगायतका अर्बौंका ठेक्का बिद्युतीय बोलपत्र प्रणाली नै ह्याक गरी लिनेमा ठूला निर्माण ब्यवसायी रहेको भन्दै उजुरी परेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत छानविन अगाडि बढाएको थियो ।
ठेकेदार र ह्याकरले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट ह्याक गरी अरुको भन्दा कम आर्थिक प्रस्ताव राखेर ठेक्का हात पार्दै आएका थिए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ठेक्का पनि त्यसैगरी हत्याएको खुलेपछि आशिष निर्माण सेवा, सगुन इन्जिनियरीङ लगायत कम्पनीमाथि सीआइबीले छानबिन गरिरहेको छ ।
बोलपत्रका लागि प्रस्ताव पेश गर्नुभन्दा केही मिनेट अगाडि आफ्नो बिड मोडिफाई गरी उनीहरुले सबैभन्दा कम प्रस्ताव गर्दथे । यसमा झण्डै एक करोड खर्च गरी विदेशी ह्याकर समेत प्रयोग गरिएको खुलेको छ ।