Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरानमाथि अमेरिकाको नाकाबन्दी घोषणासँगै द्वन्द्व झन बढ्ने संकेत, पुटिनको यस्तो प्रस्ताव

इरानमाथि अमेरिकाको नाकाबन्दी घोषणासँगै द्वन्द्व झन बढ्ने संकेत, पुटिनको यस्तो प्रस्ताव

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । इस्लामावाद वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि नाकाबन्दी सुरू गर्ने घोषणा गरेको छ । सोमबारदेखि नै लागु हुनेगरी अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने र बाहिरिने सबै समुद्री जहाजहरूमा नाकाबन्दी लगाउने घोषणा गरेको हो।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले आइतबार वक्तव्य जारी गरी अमेरिकी समयअनुसार सोमबार बिहानदेखि लागू हुनेगरी इरानी बन्दरगाहमा जाने र त्यहाँबाट फर्कने सबै देशका जहाजमा नाकाबन्दी लगाउने घोषणा गरेको हो।

स्ट्रेट अफ हर्मुज हुँदै अन्य देशमा जाने समुद्री जहाजहरूलाई भने अवरोध नगरिने सेन्टकमलाई उद्धृत गरी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी सेनाको घोषणासँगै इरानी बन्दरगाहतर्फ जाँदै गरेका केही जहाजहरू रोकिएको रोयटर्सले जनाएको छ।

इरानी पोर्टतर्फ जान लागेका जहाजहरूलाई अमेरिकी नौसेनाले निगरानी राख्नेछ। यसबारेमा विस्तृत विवरण सार्वजनिक गर्ने पनि सेन्टकमले बताएको छ।

इरानले स्ट्रेट अफ हर्मुजमा आफ्नो नियन्त्रण हुने र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क (टोल) उठाउने प्रस्ताव राखेको थियो। यसबारेमा इस्लामावाद वार्तामा समझदारी नभएपछि अमेरिकाले इरानलाई अप्रत्यक्ष रूपमा नाकाबन्दी लगाउन खोजेको हो।

यसले युद्धविराम नै संकटमा परेको रोयटर्सले जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई शुल्क तिर्ने जुनसुकै देशका जहाज भए पनि रोक्ने चेतावनी दिएका थिए। ‘अवैध शुल्क तिर्ने कुनै पनि जहाज सुरक्षित रूपमा यात्रा गर्न पाउने छैनन्’ उनले भनेका छन्।

ट्रम्पले अमेरिकी नौसेनाले हर्मुजमा इरानले बनाएको बारूदी सुरूङ हटाउने अभियान सुरू गर्ने पनि बताएको छ। विश्वका २० प्रतिशतभन्दा बढी तेल र ग्यास पैठारी हर्मुजबाटै हुने भएकाले यसको सुरक्षा संवेदनशील मानिन्छ।

अमेरिकाको घोषणापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले हर्मुज क्षेत्रमा आउने कुनै पनि अमेरिकी सैन्य जहाज आए त्यसलाई युद्धविरामको उल्लंघन मानिने चेतावनी दिएको छ।

आइआरजिसीका सैन्य सल्लाहकार मोहसेन रेजाइलले हर्मुजमा नाकाबन्दी विरूद्ध इरानसँग अझै शक्तिशाली विकल्प रहेको बताएका छन्। उनले भनेका छन्–‘हामीसँग अझै शक्तिशाली विकल्प छन्। सामाजिक सञ्जाल वा कागजी धम्कीले हामी झुक्दैनौं ।’

आइआरजिसीले स्ट्रेट अफ हर्मुज अझै इरानको पूर्ण नियन्त्रणमा रहेको र गैरसैनिक जहाजहरूलाई आवागमनमा कुनै बाधा नपुर्‍याइएको बताएको छ। ‘तर सैन्य जहाज आए त्यसको बलियो प्रतिक्रिया दिनेछौं’ आइआरजिसीले भनेको छ।

सभामुख बागेर गालीबाफले इस्लामावाद वार्ता विफल भई इरान फर्केपछि ट्रम्प लड्न चाहन्छन् भने आफू पनि पछि नहट्ने बताएका थिए।

गालीबाफ इस्लामावाद वार्तामा इरानको नेतृत्व गरेर पुगेका थिए। त्यहाँ उपराष्ट्रपति जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग २१ घन्टा वार्ता भए पनि सहमति भने हुन सकेन।

वार्तामा मुख्य दुई विषयमा सहमति नजुटेको एपीले जनाएको छ। पहिलो, हर्मुज जलमार्ग र दोस्रो इरानको आणविक कार्यक्रम। अमेरिकाले इरानलाई युरेनियम संवर्धन पूर्ण रूपमा बन्द गर्न, प्रमुख संरचना हटाउन र उच्च संवर्धित सामग्री हस्तान्तरण गर्न आग्रह गरेको थियो।

इरानलाई पुटिनको प्रस्ताव ः अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता म गर्छु
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्।  क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले आइतबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरी मध्यस्थताका लागि प्रस्ताव राखेका हुन्। 

क्रेमलिनले भनेको छ–‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी मसुद पेजेस्कियानलाई फोन गरी मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रयासमा मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्।’

क्रेमलिनको वेबसाइटका अनुसार पुटिन र पेजेस्कियानले आइतबार फोन संवादमा इस्लामाबादमा असफल भएको अमेरिका(इरान वार्ताबारे छलफल गरेका थिए। 

पुटिनले पश्चिम एसियामा न्यायपूर्ण र दिगो शान्ति स्थापनाका लागि राजनीतिक र कूटनीतिक माध्यमबाट मध्यस्थता गर्न र समाधान खोज्न आफू तयार रहेको बताएका छन्।

गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टा वार्ता गरिए पनि सहमति हुन नसकेपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फेरि वार्तामा आओस् कि नआओस्, मतलब नभएको बताएका छन्। – एजेन्सीको सहयोगमा

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077