काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका ‘क्लस्टर’को सच्चा पहरेदार बन्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा बुधबार भएको छलफलमा उनले समानुपातिक सांसदको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरे ।
प्रधानमन्त्री शाहले अन्तरक्रियामा भने, “तपाईंको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस् । प्रत्यक्ष निर्वाचित सांसद एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।”
छलफलका क्रममा केही सांसदले प्रत्यक्ष र समानुपातिकबीच भेदभाव हुने गरेको गुनासो गरेका थिए । जवाफमा बालेनले भने, “यसलाई विभेदका रूपमा नबुझिदिनुहोस् । यो छुट्टै छलफल तपाईंहरूका क्लस्टरका समस्यालाई गहिराइमा पुगेर सुन्न र स्पष्ट ध्यानाकर्षण गराउनका लागि गरिएको हो । यो भेदभाव होइन, बरु तपाईंले बोक्ने विशिष्ट मुद्दालाई न्याय गर्ने प्रयास हो ।”
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिए ।