काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ ।
वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको हो ।
रास्वपाले आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा भूपदेव उनका प्रमुख स्वकीय सचिव थिए ।
प्रधानमन्त्री शाहले मेयर पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए । त्यसपछि रास्वपासँग एकीकरणको प्रक्रियाका क्रममा उनी पार्टीको केन्द्रीय सदस्य बनेका थिए ।
उनी फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।
यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । तर,लम्सालले अहिले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको हो ।