काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि हाल सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका विचौलिया दीपक भट्टसँगको कनेक्सनबारे प्रश्न उठिरहेका बेला उनले पुनः विवादास्पद टिप्पणी गरेका छन् ।
सोमबार गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत लगातार दुई स्टाटस सार्वजनिक गर्दै आफूविरुद्ध उठेका आरोपबारे स्पष्टीकरण दिएका छन् ।
पहिलो स्टाटसमार्फत उनले आईपीओको पाइपलाइनमा रहेको स्टार माइक्रो इन्स्योरेन्सको २५ हजार कित्ता शेयरबारे स्पष्ट पार्दै आफ्नो संलग्नता नकारेका थिए।
तर सोही दिन राति उनले अर्को आक्रामक स्टाटस लेख्दै ‘दिनको ५० करोड रुपैयाँ भ्रष्टाचार गर्ने व्यक्ति को हुन् ?’ भन्दै प्रश्न तेर्साएका छन्।
उनले लेखेका छन्, 'वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन।'
साथै, उनले ठूलो परिमाणको भ्रष्टाचारमा संलग्न व्यक्तिहरूमाथि अपेक्षित रूपमा कारबाही नभएको संकेत गर्दै “दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ” भन्दै टिप्पणी गरेका छन् ।
सोही टिप्पणीका कारण गृहमन्त्री सुधनमाथि फेरि प्रश्न उठेको छ । उनलाई दिनको ५० करोड रुपैयाँ भ्रष्टाचार गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न दबाब बढेको छ ।