काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् ।
बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् गृहमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
गुरुङले पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको भन्दै नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा पद छोडेको उल्लेख गरेका छन्।
'मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन । मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेष्ट नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,' गुरुङले फेसबुकमा लेखेका छन् ।
२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रूपमा व्याख्या गर्दै पदमा रहँदा छानबिन प्रक्रियामा कुनै असर नपरोस् भन्ने उद्देश्य रहेको स्पष्ट पारेका छन्।
गृहमन्त्री गुरुङ शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीको पनि शेयर होल्डर रहेको तथ्य भेटिएपछि विवादमा मुछिएका थिए ।
सुजन आचार्य संस्थापक अध्यक्ष रहेको यो कम्पनीमा चार जना सञ्चालक छन् । हाल अध्यक्ष रहेकी प्रजुनी बज्राचार्य भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङकी कर्मचारी हुन् । उनीसमेत सञ्चालक रहेको कम्पनीमा ५७ जना संस्थापक शेयर धनी छन्। भट्टसँग विवादास्पद कारोबारमा मुछिएको शंकर समूहको स्वामित्व रहेको जगदम्बा इन्टरप्राइजेजको उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर देखिन्छ । त्यति बराबरको रकम अर्थात् २५ लाख रुपैयाँको सेयर हालका गृहमन्त्री सुधन गुरुङको समेत रहेको तथ्य आइतबार बाहिरिएको थियो । उनले यो कुरा अघिल्लो हप्ताको सम्पत्ति विवरणमा भने उल्लेख गरेका थिएनन्।
अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी माग उठ्न थालेको थियो।
त्यसपछि गृहमन्त्री गुरुङले सोमबार सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको भन्दै स्पष्टीकरण दिएका छन् ।
त्यसअघि पनि आफूमाथि पार्टीको सम्भावित ‘एक्सन’ लाई लिएर गृहमन्त्री गुरुङ आइतबार राति नै रास्वपा सभापति रवि लामिछानेलाई भेट्न उनकै निवास बुढानीलकण्ठ गएका थिए ।
राती झन्डै २ घण्टा बुढानीलकण्ठमा बसेका गृहमन्त्री गुरुङलाई सभापति लामिछानेले लामिछानेले सोमबार पार्टीको बैठक बस्ने र आफ्नो कुरा बैठकमै राख्न सकिने जवाफ दिएका थिए ।
यद्यपी गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा कुनै छलफल भएन् ।
त्यसपछि गृहमन्त्री गुरुङ पुन: मंगलबार पनि पार्टी सभापति लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका थिए
यसैबीच मंगलबार राती नै मन्त्री गुरुङले नेपाल प्रहरीका आइजीपी, गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी लगायतसँग झन्डै ५ घण्टा छलफल गरेका थिए ।
आज पनि गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका थिए ।
प्रधानमन्त्री शाहसँग भेटे लगत्तै उनको राजिनामा आएको हो ।
रास्वपाले स्थापनाकालमा ‘राइट टु रिकल’ को नारालाई प्राथमिकताका साथ अघि सारेको थियो । उक्त ‘राइट टु रिकल’ को व्यस्थाअनुसार नै रास्वपाले सामान्य आरोप र टिप्पणीकै आधारमा आफ्ना मन्त्रीहरूलाई पदबाट फिर्ता बोलाउने गरेको छ ।
आठ पटकसम्म बैठकमा अनुपस्थित भएर कारबाहीमा परेकी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा पुनः फर्काउन दबाब दिंदा श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरिएको थियो ।