काठमाडौं । सरकारी विद्युतीय बोलपत्र (ई–बिडिङ) ह्याकिङ प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सुस्ताएको पाइएको छ ।
सीआइबीसँग संयुक्त अनुसन्धान गरिरहेको साइबर ब्यूरो पनि पछिल्लो समय मौन जस्तै बनेको छ । सीआईबी र साइबर ब्यूरोले अहिलेसम्म ६ जना निर्माण ब्यवसायीलाई पक्राउ गरेको छ ।
तर, ठूला ठेकेदारहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । यो प्रकरणमा पक्राउ पुर्जी नै जारी भएका आशिष निर्माण सेवाका अध्यक्ष ऋषिकेश गौली अझै प्रहरीको नियन्त्रण बाहिर छन् । यद्यपी अस्पतालमा रहेका उनी प्रहरीकै निगरानीमा रहेको स्रोत बताउँछ ।
आशिषका अर्का संचालक निर्माण गौलीबिरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । सीआईबीले हालसम्म उनलाई पक्राउ गर्न सकेको छैन ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को ५ वटा प्याकेजको बोलपत्रमा आशिष निर्माण सेवा र भिमेश्वर ग्रुपले ह्याकरको सहयोगमा ई–प्रक्योपमेन्ट सिष्टममा अनधिकृत पहुँच पुर्याई ठेक्काका दररेट हेरफेर गरेको खुलेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले साईबर ब्यूरोलाई कारबाहीका लागि पत्र लेखेको थियो ।
साइबर ब्यूरोले पनि केयूकेएललाई पत्र लेखेर ठेक्का प्रकरणको बारेका सोधखोज गरेको पाइएको छ । तर, केयूकेएलले भने यसबारेमा आफूहरु जानकार नभएको जवाफ फर्काएको स्रोतले बतयो ।
ई–बिडिङ ह्याकिङ प्रकरणको अनुसन्धानमा आफ्ना कर्मचारीहरु पनि तानिन सक्ने भएपछि केयूकेएल भने ठेक्का नै रद्द गराएर उम्किने दाउमा लागेको छ । तर, ठेक्का रद्द गराउँदैमा कानून विपरित काम गर्नेहरुमाथि छनविन नहुनु न्यायसंगत नहुने भन्दै चौतर्फी आवाज उठिरहेको छ ।
साइबर ब्यूरो र सीआईबीले संयुक्त रुपमा छानबिन गर्ने क्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १० अर्बको ५ वटा प्याकेजमध्ये ३ वटा ठेक्का ह्याकरको मद्दत लिएर सिष्टममा अनधिकृत पहुँच पुर्याइ लिएको पाइएपछि आशिष निर्माण सेवाका संचालकद्वय ऋषिकेश गौली र निर्माण गौलीका बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका ५ वटै प्याकेजका बोलपत्रमा सीआईबीले अनुसन्धान गरिरहेको छ । खानेपानीका २ वटा प्याकेजको ठेक्का पाएको भिमेश्वर ग्रुपका बारेमा पनि अनुसन्धान भइरहेको सीआईबी स्रोत बताउँछ ।
ह्याकर गिरोह परिचालन गर्ने कार्यमा निर्माण गौली र उनका सहयोगी ज्योती सुवेदी संलग्न रहेको खुलिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
विद्युतीय बोलपत्र ह्याकिङ प्रकरणमा लहरो तान्दा पहरो नै आउने र थुप्रै ठूला निर्माण व्यवसायीहरू छानबिनको दायरामा आउने भएका छन् ।
तुँदी कन्ट्रक्सनका सुमन सुवेदी, समानान्तरका अच्यूतप्रसाद खरेलबिरुद्ध पनि ह्याकिङ गरेर ठेक्का लिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय र सीआइबीमा उजुरी परेको छ ।
त्यसैगरी, बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का पनि आशिष निर्माण सेवा र रेलिगेयर कन्ष्ट्रक्सन जेभीले ईबिडिङ नै ह्याक गरेर लिएको आशंका गरिएको छ ।
समानान्तर ग्रुपका खरेल र रेलिगेयरका संचालक शेरबहादुर केसी साझेदार हुन् । यी दुई कम्पनी आयल निगमको पोखराको इन्धन डिपोदेखि अन्यत्र पनि साझेदारीमा काम गरेका छन् ।
सर्वोच्च अदालतको ठेक्का पनि चलखेलकै आधारमा समानान्तरले लिएको आरोप लाग्दैआएको छ ।
तुँदीका सुवेदीले लिएका हाइड्रो लगायतका बिभिन्न आयोजनाका ठेक्का तथा नौबीसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा पाएको शर्मा–लामा चिनियाँ कम्पनी जेभीको ठेक्काको बिषय पनि छानबिनको घेरामा परेको छ ।
६ जना निर्माण व्यवसायी पक्राउ गरेर सुस्ताएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठसँग ई–बिडिङ ह्याकिङ प्रकरणका बारेमा प्रतिकृयाका लागि अनलाइन नेपालले सम्पर्क गर्दा उनको फोन उठेन ।