Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री गुरुङको राजीनामा जेनजी आन्दोलनका अगुवाद्वारा स्वागत

गृहमन्त्री गुरुङको राजीनामा जेनजी आन्दोलनका अगुवाद्वारा स्वागत

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । जेनजी आन्दोलनले गृहमन्त्री सुधन गुरुङको राजीनामालाई “गम्भीर कानुनी उल्लंघन र नैतिक प्रश्न उठेपछि गरिएको स्वागतयोग्य कदम” भन्दै सकारात्मक प्रतिक्रिया दिएको छ ।

आन्दोलनका अगुवा मिराज ढुंगाना, अर्जुन शाही, रवि किरण हमाल, जस्मिन ओझा, सुनिल सिंह, ठाकुरनाथ गौतम, विजय शाह र विजय अधिकारी ले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जेनजी आन्दोलनको भावना, म्यान्डेट र प्रतिनिधित्वबाट पूर्णरूपमा विच्छिन्न भएको दाबी गरेका छन् ।

वक्तव्यमा सत्ताको केन्द्रमा रहेको शक्ति सन्तुलनको संवेदनशीलता पुनः उजागर भएको उल्लेख गर्दै आन्दोलनका प्रतिनिधिहरूले सरकारलाई स्थिर र सफल बनाउन आन्दोलन पक्षको प्रत्यक्ष सहभागिता अपरिहार्य रहेको बताएका छन्।

उनीहरूले बालेन शाह को नेतृत्वलाई सुदृढ गर्न आन्दोलनका मूल प्रतिनिधिहरूलाई निर्णय प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिएका छन्। अन्यथा प्राप्त जनमत अल्पकालीन हुने र क्षयिकरणको जोखिम बढ्ने चेतावनी दिइएको छ।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी को उदय र बालेन शाहको नेतृत्वलाई “युवाहरूको बलिदान, विद्रोहीहरूको संघर्ष र जेनजी पुस्ताको सामूहिक चेतनाको परिणाम”का रूपमा व्याख्या गरिएको छ।

आन्दोलनले भ्रष्टाचारमुक्त, जवाफदेही र समृद्ध नेपाल निर्माणलाई आफ्नो स्पष्ट म्यान्डेट बताउँदै त्यसलाई केवल नैतिक समर्थनमा सीमित राख्नु आन्दोलनप्रतिको विश्वासघात हुने चेतावनी दिएको छ।

यससँगै, बालेन शाहको नेतृत्वमा जेनजी आन्दोलनका प्रतिनिधिहरू समेटिएको संयुक्त सरकार सञ्चालन संरचना गठन गर्न माग गरिएको छ।

पुरानो राजनीतिक संस्कार भ्रष्टाचार, नातावाद र सत्ता–केन्द्रित प्रवृत्तिलाई चुनौती दिँदै आन्दोलनलाई अब संस्थागत गर्नुपर्ने दायित्व वर्तमान नेतृत्वमा रहेको पनि उल्लेख गरिएको छ।

यसैबीच, आन्दोलनले सरकारलाई मार्गदर्शन गर्न उच्चस्तरीय निर्देशन समिति गठन गरेको जनाएको छ । समितिमा मिराज ढुंगाना, अर्जुन शाही, रवि किरण हमाल, प्रवेश दाहाल, सुनिल सिंह, ठाकुरनाथ गौतम (सहित परिवार) र विजय अधिकारी (घाइते) रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077