काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यकामा नदी किनार, सार्वजनिक तथा सरकारी जग्गामा बनेका अनधिकृत बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ ।
शनिबार काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित सुकुम्वासी बस्ती शान्तिपूर्ण रूपमा खाली गराइएको छ भने वडा नं। ९ गैरीगाउँ र वडा नं. ३१ शान्तिनगरका बस्तीहरूमा पनि हटाउने कार्य जारी छ ।
सरकारले कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार (बुद्धचोक) र वडा नं. ९ मनोहरा टोलका बस्तीहरू हटाउने तयारीसमेत अघि बढाएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी कुल ८७१ घरधुरी ‘अनधिकृत’ रूपमा बसोबास गर्दै आएका छन्। तीमध्ये केही संरचना भत्काइसकिएको छ।
बस्ती खाली गराउने क्रममा नेपाल प्रहरी र महानगरका सुरक्षाकर्मीले स्थानीयको सामान व्यवस्थापन तथा ढुवानीमा सहयोग गरेका छन्। सरकारका अनुसार थापाथलीमा बासिन्दाहरूको सहकार्यका कारण प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
हालसम्म थापाथलीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन् भने अन्य स्थानबाट पनि सम्पर्क गर्ने क्रम जारी छ। सम्पर्कमा आएका परिवारलाई दशरथ रंगशालामा ल्याएर विवरण संकलन गर्ने र त्यसपछि अस्थायी रूपमा काठमाडौंका विभिन्न होटलमा राख्ने तयारी गरिएको छ।
घरायसी सामानहरू कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यास नेपाल परिसरमा सुरक्षित रूपमा राखिएको जनाइएको छ।
सरकारले आइतबारदेखि वास्तविक सुकुम्वासीको पहिचान प्रक्रिया सुरु गर्ने र प्रमाणित परिवारलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गर्ने योजना सार्वजनिक गरेको छ। त्यसपछि दीर्घकालीन पुनर्वास कार्यक्रम अघि बढाइने बताइएको छ।