काठमाडौं । सेतै फुलेका पूर्वसचिव भीम उपाध्यायलाई श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अत्यन्तै न्यून स्तरको भाषा प्रयोग गरेर गाली गरेका छन् ।
सुकुम्वासी बस्ती खाली गराउने सरकारको अभियानविरुद्ध उत्रिएका साम्पाङले पूर्वसचिव उपाध्यायलाई ‘डेढुमुखे’ भन्दै गाली गरेका हुन् ।
उपाध्यायले फेसबुकमा एउटा पोस्ट सेयर गर्दै लेखेका थिए–‘मर्दले यसरी काम गर्छ, नामर्दहरू यसरी रुन्छन् ।’
उनको पोस्टमा एआई सिर्जित एउटा तस्बिर छ । जहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, केपी शर्मा ओली र हर्क साम्पाङ रोइरहेका छन् । तस्बिरमाथि लेखिएको छ–सुकुम्वासीको नाममा चल्ने राजनीतिको पसल बन्द भएपछि ।
यो पोस्टमा प्रतिक्रिया जनाउँदै साम्पाङले उपाध्यायलाई ढेडुमुखे भनेका हुन् । उनले लेखेका छन्–‘तँलाई के थाहा छ गरिबको पीडा ??? मेलम्चीको घोटाला मुछिएको ढेडुमुखे ।’
सांसदको भाषा यस्तो हुन्छ ? यो जवाफमा साम्पाङलाई निकै गाली आएको छ । यद्यपी पूर्वसचिव उपाध्यायले भने अहिलेसम्म जवाफ फर्काइसकेका छैनन् ।
साम्पाङले आफ्नो फेसबुक पेजमा सुकुम्वासी वस्ति हटाउने सरकारको कदमलाई लिएर धारावाहिक स्टाटस लेख्दै विरोध जनाइरहेका छन् । आजै मात्र उनले दर्जनौँ पोस्ट गरिसके ।
एउटा पोस्टमा उनले लेखेका छन्–‘यो सरकारलाई म त्यो दिन धन्यवाद दिनेछु जुन दिन महाकालीमा सिमाना नदीलाई च्यापेर भारतले आफूखुसी बनाइरहेको बाँध रोकेर देखाउँछ ! त्यो जाबो गरिबको झुपडी भत्काएर बहादुर सम्झनु र सानो बालकसँग लडेर मैले जितेँ भन्नु एउटै हो !’
उनको अर्को पोस्टमा भने ‘अबको ५ वर्ष गरिब, निमुखा, साना व्यवसायी, अव्यवस्थित बसोबासी, सुकुम्वासीहरूले देख्ने भनेको ‘डोजर, पुलिस, लट्ठी, बुट, बन्दुक र जेलखाना’ मात्रै हुन् ! अरू केही छैन भिजन ! मैले चुनाव ताका निक्कै भनेको थें तर बुझेनन् ! अब परि चेत्नेछन् !’ उल्लेख छ ।