एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघची २४ घण्टा नबित्दै फेरि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका छन् । उनी शनिबार मात्रै इस्लामाबादबाट ओमानको राजधानी मस्कट गएका थिए ।
निर्धारित कार्यतालिका अनुसार नै अराघची इस्लामाबादमा उच्चस्तरीय भेटघाट सकेपछि रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुने र अमेरिकाले विजय हासिल गर्ने दाबी गरे । उनले इरान वार्ताका लागि इच्छुक भए सिधै संवाद गर्न सक्ने समेत बताए ।
यसअघि ट्रम्पले पाकिस्तानमा प्रस्तावित अमेरिकी प्रतिनिधिमण्डलको बैठक रद्द गरेका थिए । हिजो इस्लामाबाद पुगेपछि इरानका विदेशमन्त्री अराघचीले पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरसँग भेट गरेका थिए ।
अमेरिका–इरानबीच शान्ति वार्ता पुनः शुरु गर्न प्रस्तावित रूपरेखा प्रस्तुत गर्ने तयारी भइरहेको बताइएको छ ।