Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपक्षी चार दलको विरोधका बाबजुद थप तीन अध्यादेश ल्याउँदै सरकार, राजनीतिक नियुक्तिहरू एकै पटक खारेज हुँदै

विपक्षी चार दलको विरोधका बाबजुद थप तीन अध्यादेश ल्याउँदै सरकार, राजनीतिक नियुक्तिहरू एकै पटक खारेज हुँदै

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । सरकारले विपक्षी चार दलको विरोधका बाबजुद थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आह्वान भइसकेको संसद स्थगित गरेर धमाधम अध्यादेश ल्याइरहेको छ । दुई दिनमा बालेन नेतृत्वको सरकारले पाँच अध्यादेश ल्याएको छ । 

यद्यपी राष्ट्रपति रामचन्द्र पौडेलले कुनै पनि अध्यादेश जारी गरेका छैनन् । 

सरकारले वैशाख १४ गते ‘संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६’ र ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गर्ने दुईवटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो । यद्यपी उक्त अध्यादेश राष्ट्रपतिले ‘होल्ड’ गरेका छन् । 

राष्ट्रपति कार्यालयमा दुईवटा अध्यादेश होल्ड हुँदा हुँदै बालेनले फेरि अर्को तीन अध्यादेश पठाएका हुन् । नयाँ अध्यादेशहरू राष्ट्रपति कार्यालय पुगिसकेको स्रोतको दावी छ । 

थपिएका अध्यादेशमा स्वास्थ्य सेवा सम्बन्धी, केही नेपाल ऐन संशोधन सम्बन्धी र विश्वविद्यालय ऐन रहेको बुझिएको छ । केही नेपाल ऐन संशोधन सम्बन्धी अध्यादेशमा १२ वटा ऐनलाई संशोधन गर्नेगरी सिफारिस भएको छ ।

बालेन नेतृत्वको सकारले भूमि आयोग खारेजसहित मन्त्रिपरिषद्को निर्णयबाट विभिन्न सार्वजनिक पदमा नियुक्त पदाधिकारीलाई एकसाथ हटाउन ऐन संशोधनका लागि अध्यादेश ल्याउन लागेको हो । 

रास्वपाले सरकार गठन नहुँदै राजनीतिक नियुक्ति पाएका सबैलाई राजीनामा दिन आग्रह गरेको थियो । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा सभापति रवि लामिछानेले औपचारिक रूपमै भागबन्डा वा दलको सिफारिसमा नियुक्त भएकाहरूले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए ।

विश्वविद्यालयहरुका उपकुलपति, रेक्टर, रजिष्टार, प्रतिष्ठानका पदाधिकारी, राष्ट्र बैंकका गभर्नर, संघीय संसद्को दुवै सदनका सचिव, राजदूतलगायत संवैधानिक र सार्वजनिक पदमा नियुक्ति पाएकालाई पदमुक्त गर्न कानूनी जटिलताका कारण आफैं हट्न बाध्य पार्ने रास्वपाको रणनीति थियो । 

तर, केही राजदूतले बाहेक अन्य पदाधिकारीले राजीनामा दिएनन् भने सरकारले स्पष्टीकरण पनि मागेको छैन । यस प्रक्रियाबाट सम्भव नहुने देखेपछि अध्यादेशमार्फत कानून संशोधन गरी सबैलाई एकमुष्ट हटाउने विकल्प रोजिएको स्रोतको दावी छ । 
यता, संसद् अधिवेशन अन्त्य गरेर सरकारले धमाधम अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेका छन् । 

नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार विपक्षी दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरी अध्यादेश ल्याउने सरकारको कदमको विरोध गरेका हुन् । 

आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारको कदमलाई असंसदीय र अलोकतान्त्रिक ठहर गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा कांग्रेस संसदीय दलका नेता आङदेम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रतिनिधि सरस्वती लामाको हस्ताक्षर रहेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077