काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे–डे) को अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाएका हुन्।
सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै थापाले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको बताए।
उनले भने- 'यो त नयाँ काम गर्छु भनेर आएको छ, उसले कानुनले शासन गर्ने सोचिएको छ, मसँग कानुन बदल्ने अधिकार छ बदल्दिन्छु, ठोक्दिन्छु, हान्दिन्छु, मलाई चिन्ता लागिरहेको छ, जसरी काम भइरहेको छ यसले ठिक ठाउँमा लाँदैन।'
संवैधानिक परिषद् राज्यको अङ्ग भएको र यसमा प्रतिपक्षी दलको पनि भूमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको उनको तर्क छ।
सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै थापाले ‘कानूनको शासन’ र ‘कानुनद्वारा शासन’ बीचको भिन्नता बुझ्न आग्रह गरे। लोकतन्त्रमा सरकार कानूनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानूनलाई ‘लठ्ठी’ बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको उनको आरोप छ।