Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोजर प्रकरणबारे प्रधानमन्त्री बालेनले भने - कुनै पनि नागरिकलाई घरबारविहीन हुन दिइने छैन

डोजर प्रकरणबारे प्रधानमन्त्री बालेनले भने - कुनै पनि नागरिकलाई घरबारविहीन हुन दिइने छैन

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउने विषयमा फैलिएको त्रासबारे स्पष्टिकरण दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले सरकारको कुनै पनि नागरिकलाई उठिबास लगाउने मनसाय नरहेको र कोही पनि घरबारविहीन हुन नपर्ने बताएका हुन् ।

उनका अनुसार नदी किनार तथा सरकारी जग्गामा अतिक्रमण भएका क्षेत्रमा सरकारले कानुनबमोजिम व्यवस्थापन प्रक्रिया अघि बढाउँदा नियोजित रूपमा भ्रम र त्रास फैलाइएको छ। उनले नागरिकलाई अपुष्ट सूचना र हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले पछिल्लो समय सरकारले चालेका कदमहरू भूमिहीनलाई सडकमा पुर्‍याउन नभई उनीहरूको आवासको हक सुनिश्चित गर्न केन्द्रित रहेको स्पष्ट पारे।

यस समस्याको दीर्घकालीन समाधानका लागि भूमिसम्बन्धी ऐन २०२१का केही प्रावधान अध्यादेशमार्फत हटाइएको पनि उनले जानकारी दिए।

कानुनी अड्चन हटेसँगै सरकारले वास्तविक भूमिहीनको पहिचानका लागि डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण र अभिलेख तयार गर्ने काम सुरु गरिसकेको उनले बताए।

उनले असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित र व्यवस्थित ठाउँमा स्थानान्तरण गर्ने योजना रहेको उल्लेख गर्दै अन्य भूमिहीनको हकमा सम्बन्धित आयोगको सिफारिसका आधारमा निर्णय लिइने बताए।

बस्ती व्यवस्थापनको नाममा कसैलाई अन्याय नहुने दाबी गर्दै उनले सरकारका सबै कदम समस्याको स्थायी समाधानतर्फ उन्मुख रहेको बताए।

'कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइँदैन,' उनले भने, 'अनावश्यक रूपमा नआत्तिन सबैमा अनुरोध छ।'

सरकारले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न प्रतिबद्ध रहेको सन्देशमा उल्लेख गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077