काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि कार्यसूचीमा प्रवेश गर्न लाग्दा विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुखले उनीहरूलाई बोल्न समय दिएका थिए ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले नागरिकका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्मै आएर दिनुपर्ने बताइन् ।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले संविधान र कानुनी व्यवस्थाअनुसार प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने धारणा राखे ।
उनले भने - 'प्रधानमन्त्री किन सदनलाई किन इग्नोर गर्न खोजिरहनुभएको छ ? खोपीको देउता बन्दै हुनुहुन्छ ? के प्रधानमन्त्री बालेन शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो ? घण्टी बजाएर पूजा गर्दै हो ? के गर्न के बालेनतन्त्र चाहिँ स्थापना गर्न खोजिएको हो ?'
यता नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सबैले संविधान र कानुनको सम्मान गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री केही समयका लागि भए पनि संसद्मा आएर रोष्ट्रमबाट बोल्नुपर्ने माग गरे ।
यस्तै श्रम संस्कृति पार्टीका आरेन राईले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिले गलत नजिर बस्ने बताए । उनले अहिलेको व्यवहारले आगामी पुस्तालाई कस्तो सन्देश जाने भन्ने विषयमा सबै गम्भीर हुनुपर्ने बताए ।