काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्थाको रक्षा गर्न सके मात्र जनताले आफ्नो अवस्था परिवर्तन गर्न पाउने बताएका छन् ।
१९औँ गणतन्त्र दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले गणतन्त्रलाई नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र लोकतान्त्रिक चेतनाको उपलब्धिका रूपमा व्याख्या गरेका हुन्।
ठीक अठार वर्षअघि निर्वाचित संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै एमाले अध्यक्ष ओलीले जनताले आफ्ना लागि आफैँले शासन प्रणाली निर्धारण गर्ने अधिकार प्राप्त गर्न सात दशकभन्दा लामो सङ्घर्ष गर्नुपरेको उल्लेख गरेका छन्।
उनले अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक अधिकार र संगठित हुने अधिकार प्राप्तिका लागि हजारौँ अग्रजहरूले बलिदान दिएको तथा धेरैले जेल, यातना र निर्वासन भोग्नुपरेको बताएका छन्।
ओलीले हुकुमी शासन अन्त्य भई कानुनको शासन स्थापना भएको उल्लेख गर्दै व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संस्थाबाट सञ्चालन हुने प्रणाली सुरु भएको बताए। उनका अनुसार गणतन्त्र केवल शासन प्रणाली परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको ऐतिहासिक रूपान्तरण हो, जसले शताब्दीयौँदेखि ‘प्रजा’ भएर बाँचेको समाजलाई सार्वभौम नागरिकमा रूपान्तरण गरेको छ।
उनले विकसित मुलुकहरूको तुलनामा नेपालमा गणतन्त्रको अभ्यास छोटो भए पनि यस अवधिमा सामाजिक, राजनीतिक र भौतिक विकासमा उल्लेखनीय प्रगति भएको दाबी गरे। गाउँगाउँमा पुगेको स्थानीय सरकार, महिला, दलित, जनजाति, मधेसी तथा पिछडिएका समुदायको राज्यका विभिन्न तहमा बढेको प्रतिनिधित्व, खुला अभिव्यक्ति, नागरिक स्वतन्त्रता, डिजिटल पहुँच तथा सडक–सञ्चारको विस्तार गणतन्त्रकै उपलब्धि भएको उनको भनाइ छ।
परिवर्तनको अभ्यास परिपक्व हुन समय लाग्ने उल्लेख गर्दै ओलीले चाहेजति तीव्र गतिमा परिवर्तन हुन नसक्दा जनतामा असन्तुष्टि देखिन सक्ने स्वीकार गरे। तर, ती असन्तुष्टिहरूको वैधानिक समाधान पनि लोकतान्त्रिक प्रणालीभित्रै सम्भव हुने उनले बताएका छन्।
जनताको निराशाबाट फाइदा उठाउँदै लोकतान्त्रिक संस्थामाथि अविश्वास फैलाउने प्रवृत्तिप्रति सचेत गराउँदै ओलीले त्यस्ता गतिविधिले लोकतान्त्रिक अधिकार कमजोर पार्ने र अधिनायकवादलाई बल पुग्ने खतरा रहेको औँल्याए।
संविधान, संसद्, न्यायपालिका तथा स्वतन्त्र प्रेसको स्वतन्त्रता र अधिकार क्षेत्रको रक्षा गर्नु नै गणतन्त्रको रक्षा भएको उल्लेख गर्दै उनले यी संस्थाहरू कमजोर भए समाज बलियो बन्न नसक्ने र जनताले समृद्धि तथा सुख प्राप्त गर्न नसक्ने स्पष्ट पारेका छन्।