काठमाडौं। तनहुँ प्रहरीले शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेकी छन् ।
थापाले ३१ दिनकी छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए ।
उनले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्याएपनि चिकित्सकहरुले शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार पक्राउ परेकी थापाले ‘डिप्रेसन’ को औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थापाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।