Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिले नेपाललाई बलियो बनाएको रास्वपाको दाबी

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिले नेपाललाई बलियो बनाएको रास्वपाको दाबी

मंगलवार , जेठ १९, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिले नेपाललाई आफ्नो धारणा अझ बलियो रूपमा प्रस्तुत गर्ने आधार दिएको जनाएको छ।

मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले दशगजा क्षेत्रको भूउपयोगसम्बन्धी वास्तविकताबारे खुलेर छलफल हुन थालेको भन्दै प्रधानमन्त्रीको भनाइले सीमा मुद्दालाई संवाद र समाधानको दिशामा अघि बढाउन सहयोग पुगेको बताए।

उनले दशगजा क्षेत्रमा दुवै पक्षबाट भूउपयोग भएको विषय विभिन्न समयमा उठ्दै आएको उल्लेख गर्दै त्यसलाई ‘सीमा मिचिएको’ भन्ने वा अन्य कुनै शब्द प्रयोग गर्ने विषयभन्दा पनि अन्तर्राष्ट्रिय अभ्यास र द्विपक्षीय संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए।

“दशगजा क्षेत्रमा दुवै तर्फबाट भूउपयोगहरू भएका छन्। त्यसलाई सीमा मिचेको भन्ने वा अन्य कोणबाट व्याख्या गर्ने विषय आफ्नो ठाउँमा छ। तर प्रधानमन्त्रीले यस विषयलाई अन्तर्राष्ट्रिय अभ्यास र आपसी छलफलका आधारमा अगाडि बढाउनुपर्ने कुरा उठाउनुभएको छ, जसले नेपाललाई आफ्नो पक्ष अझ मजबुत रूपमा राख्न सहयोग गरेको छ,” बुर्लाकोटीले भने।

रास्वपाले नेपालका मिचिएका भूभाग फिर्ता हुनुपर्ने आफ्नो पुरानै अडान कायम रहेको स्पष्ट पार्दै सीमा सम्बन्धी विषयलाई तथ्य, प्रमाण र कूटनीतिक संवादका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।

फरक प्रसंगमा महामन्त्री बुर्लाकोटीले संसद्को चालु अधिवेशनमा बजेटमाथिको छलफल र पारित गर्ने प्रक्रिया महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध नगर्न आग्रह गरे। उनले बजेट पारितमा ढिलाइ हुँदा विकास निर्माणका काम तथा सरकारी कार्यक्रमहरू प्रभावित हुन सक्ने भएकाले संसदीय प्रक्रियालाई अवरोध नगरी बहस र संवादमार्फत असहमति समाधान गर्नुपर्ने बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077