मोरङ । आपराधिक लाभ सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट थुनाबाहिर रहेर अनुसन्धान गर्ने आदेश पाएका विराटनगरका अभिषेक गिरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनः पक्राउ गरी काठमाडौं लगेको छ ।
गिरीलाई सोमबार राति विराटनगर विमानस्थलमार्फत काठमाडौं लगिएको हो । जिल्ला कारागार मोरङका कैदीबन्दीको आर्थिक हिनामिना गरेको आरोपमा पक्राउ परेका गिरीलाई मोरङ जिल्ला अदालतले सोमबार थुनामुक्त गर्दै बाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो।
अदालतको आदेशपछि प्रहरीले उनलाई भ्यानमार्फत विमानस्थल पुर्याएको थियो । मोरङ प्रहरीले गिरीविरुद्ध काठमाडौंमा अर्को मुद्दामा पक्राउ पुर्जी जारी रहेकाले उनलाई सीआईबीको जिम्मा लगाइएको जनाएको छ।
सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि म्याद थपको माग गर्दै गिरीलाई अदालतमा उपस्थित गराएको थियो। अदालतले थुनाबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएलगत्तै अदालत परिसरबाट बाहिरिने क्रममा सीआईबीले उनलाई पुनः नियन्त्रणमा लिएको हो।
उता, गिरीसँगै पक्राउ परेका सञ्जय मण्डल, विजय कामत र विनोदकुमार सिंहलाई भने अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
गिरीलाई प्रहरीले असार १३ गते विराटनगर–८ स्थित उनकै निवासबाट पक्राउ गरेको थियो।