काठमाडाैँ। नेपाल र विभिन्न देशमा रहेका ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८ जना उपचारपछि निको भई घर फर्केका छन्।
‘हालसम्म नेपालमा ९ र विदेशमा रहेका ८० गरी कूल ८९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको जानकारी हामीले प्राप्त गरेका छौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेको छ, ८ जना उपचारपछि निको भई अस्पतालबाट फर्केका छन् र ७८ जना नेपाल लगायत विभिन्न देशका अस्पतालमा उपचारत छन्।’
परराष्ट्रले नेपाली नियोगहरुबाट हालसम्म प्राप्त रिपोर्ट अनुसार भारतमा २ जना, हङकङमा १ जना, जापानमा १ जना, युनाईटेड अरब इमिरेट्स युएईमा ८ जना, कुवेतमा २ जना, मलेसियामा २ जना, स्पेनमा ८ जना, अष्ट्रेलियामा ८ जना, बहराइनमा १२ जना, पोर्चुगलमा ८ र बेलायतमा ८ जनामा कोरोनाको संक्रमण देखिएको छ। संक्रमितमध्ये बेलायतमा २ जना नेपालीको मृत्यु भएको जनाइएको छ।
कोरोना भाइरसको महामारी विश्वभरि फैलिएपछि परराष्ट्र मन्त्रालयले विभिन्न देशमा रहेका नेपाली नियोगहरुलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे दैनिक रिपोर्ट मन्त्रालयमा पठाउन निर्देशन दिएको थियो।
Leave a Reply