Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतमा अलपत्रको पीडा: रोगभन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको उठ्दैन फोन

    भारतमा अलपत्रको पीडा: रोगभन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको उठ्दैन फोन

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.9K
    SHARES

    फाइल तस्विर

    शेरबहादुर सिंह
    कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् ।

    बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए। “एउटा सानो कोठामा १२÷१५ जना खादिएर बसेका छौँ ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।”



    उनले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोखे । “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन ग¥यौँ ।” भण्डारीले दुखेसो पोख्दै भने, “दूतावासको फोन उठ्दैन ।” त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए ।



    “हुलिएर बसेका छौँ । बाहिर कोरोनाको संत्रास धेरै छ ।” उनले भने, “अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।” उनले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए ।

    “यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।” त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए।

    “एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौँ ।” उनले भने, “यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।” उनले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरे ।

    “नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौँ ।” चन्दले भन्नुभयो, “हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौँ ।” सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ ।

    नेपाल–भारत सीमामा करिब एक हजार ५०० को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए ।

    “हाम्रो भारतीय पक्षसित सधैँ सम्र्पक र समन्वय हँुदैछ ।” उनले भने, “त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताउनुभयो ।

    “सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।” उनले भने, “जो जहाँ छौँ, त्यही सुरक्षित बसौँ भन्ने सोच राख्नुपर्छ ।” बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार