Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • बास्तोलाको मृत्यु प्रकरणमा नयाँ मोड, छ जनाविरुद्ध मुद्दा दर्ता

    बास्तोलाको मृत्यु प्रकरणमा नयाँ मोड, छ जनाविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    मोरङ । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको मृत्यु प्रकरण घटनामा छ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

    प्रहरीले अनुसन्धानको अन्तिम प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले छ जनाविरुद्ध अभियोगपत्र तयार पार्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा उर्लाबारी–६ का राजेश रणपहेली, सुदीप परियार, दिपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीलाई प्रतिवादी बनाइएको छ। उनीहरुमध्ये मेहरमान र कुमार पक्राउ परेका छन्। मुद्दा दर्ता भएपछि न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा पक्राउ परेकासँग बयान लिने काम बुधबार अवेरसम्ममा सकिएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।



    आजै (बिहीबार) वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस सकिएपछि मुद्दामा अदालतबाट आदेश आउने सम्भावना रहेको उनको भनाइ छ । दाहालका अनुसार अदालतले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा पठाउने अर्थात धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिने छ ।



    अभियुक्तमध्ये दुई जना पक्राउ परेका छन् । चार जना फरार छन्।

    फरार रहेका चारसहित छ जना यही घटनामा यसअघि पक्राउ परेका थिए । प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने निस्कर्ष निकालेर अनुसन्धानको मिसिलसहित बुझाए पनि आवश्यक प्रमाण नपुगेको भन्दै वकिल कार्यालयले माघ २ गते हाजिर जमानीमा उनीहरुलाई छाडिदिएको थियो। आफन्तको जिम्मा लगाएर छाडिएकामध्ये चार जना अहिले फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

    ‘प्रहरीले मिसिलमा फोटो परिवर्तन गरेको भनेर आफन्तले आन्दोलन गर्नु भएको छ। तर सक्कली मिसिल वकिल कार्यालयमार्फत अदालतमा पुगिसकेकाले त्यसमा मृतककै फोटो छ’, एसपी खड्काले भने, ‘प्रहरीसँग रहेको नक्कल प्रतिमा अर्कै फोटो च्यापिएर बसेछ । समिति गठन गरेर छानबिन गर्दा पनि अनुसन्धानमा कुनै लापरबाही देखिएन।’ उनले पीडित परिवारलाई न्याय दिने हिसाबमै प्रहरी अघि बढेको जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार