Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • उपत्यकाका कोभिड खोप केन्द्रमा अचाक्ली भिड, जोखिमबारे चिकित्सक यसो भन्छन्

    उपत्यकाका कोभिड खोप केन्द्रमा अचाक्ली भिड, जोखिमबारे चिकित्सक यसो भन्छन्

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2K
    SHARES

    काठमाडौँ। काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्ध चिनियाँ खोप लगाउन खोप केन्द्रहरूमा व्यापक भिड हुँदा त्यहीँबाट सङ्क्रमण सर्ने डर भएको कतिपयले बताएका छन्।

    सरकारले १८ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई आइतवारदेखि उपत्यकामा भेरो सेल खोपको पहिलो मात्रा दिन सुरु गरेको हो।



    चिनियाँ सरकारले भेरो सेल खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।



    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार काठमाडौँ  उपत्यकाका तीन जिल्लाबाहेक नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र रसुवा जिल्लामा चिनियाँ खोप वितरण भइरहेको छ।

    ‘आजसम्म हामीले दुई लाखलाई दिइसक्यौँ। चार लाख व्यक्तिलाई दुई डोज पुग्नेगरी हामीले चीनबाट पाएका हौँ,’ उनले भने।

    स्थानीय प्रशासनहरूले बिहीवार बिहानदेखि लागु हुनेगरी उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेपछि मङ्गलवार खोप लगाउनेहरूको भिड झन् बढेको देखिएको छ।

    नेपाल प्रहरी अस्पताल पानीपोखरी, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर र हिमाल अस्पताल ज्ञानेश्वरमा मङ्गलवार अचाक्ली भिड भएको त्यहाँ खोप लगाउन गएकाहरूले बताएका छन्।

    चिकित्सक के भन्छन्र ?

    नेपालमा पनि कोरोनाभाइरसका निकै सङ्क्रामक मानिएका यूके भेरिअन्ट र डबल म्यूटन्ट देखिएको पुष्टि भइसकेको पृष्ठभूमिमा विशेष सर्तक हुनुपर्ने चिकित्सकहरूको सुझाव छ।

    खोप लगाउन लाइन बस्ने क्रममा पर्याप्त सावधानी नअपनाइए सङ्क्रमण फैलने सम्भावनालाई नकार्न नसकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन्।

    ‘खुला ठाउँमा लाइन भएकोले लाइन बस्नेहरूले यदि सामाजिक दूरी कायम गरेका छन् र मास्क लगाएका छन् भने सङ्क्रमित हुने सम्भावना खासै हुन्न।’

    ‘तर मानिसहरूले यदि दूरी पनि कायम गरेका छैनन् र नाक मुख छोपिनेगरी मास्क पनि राम्ररी लगाएका छैनन् भने लाइनबाटै सर्ने सम्भावना रहन्छ,’ उनले थपे।

    सरकार र नागरिक दुवै पक्षबाट कमजोरी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी औँल्याउँछन्।

    ‘सरकारले पनि थिति बसालेको भए र नागरिकले पनि सामान्य कुरालाई पालना गरेको भए हुन्थ्यो। यसरी भिडभाड गर्दा सङ्क्रमण फैलिने कुरा त अपेक्षित नै छ,’ मरासिनीले भने।  (स्रोत : बिबिसी)

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार