Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अर्बौं बक्यौता नतिर्न शिवम् सिमेन्टले निकाल्यो कुलमान घिसिङविरुद्ध ‘धम्कीपूर्ण’ विज्ञप्ति

    अर्बौं बक्यौता नतिर्न शिवम् सिमेन्टले निकाल्यो कुलमान घिसिङविरुद्ध ‘धम्कीपूर्ण’ विज्ञप्ति

    अनलाइन नेपाल
  • बुधबार, १६ भाद्र २०७८
  • 2.9K
    SHARES

    हेटौंडा । २ अर्ब बढी विद्युत महसुल तिर्न आनाकानी गरिरहेको शिवम् सिमेन्ट लिमिटेडले प्रेस विज्ञप्ति नै प्रकाशित गरेर प्राधिकरणलाई उल्टै पैसा नतिर्ने भन्दै ‘धम्की’ दिएको छ ।प्राधिकरणको हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरका अनुसार २ महिना अघि २ अर्ब ३४ करोड रुपैयाँ विजुलीको रकम तिर्न भन्दै पत्र पठाइएको थियो । सोही पत्र पठाएको विषयलाई शिवम् सिमेन्टले आफूहरुलाई प्राधिकरणले धम्की दिएको भन्दै विज्ञप्ति निकालेको हो ।

    विद्युत् प्राधिकरण वाग्मती प्रदेश डिभिजन कार्यालय हेटौंडाका अनुसार शिवम् सिमेन्टले विद्युत् महसुलबापत विद्युत प्राधिकरणलाई २ अर्ब ३४ करोड महशुल तिर्न बाँकी छ । पाँच वर्षदेखि विद्युत् महसुलवापत सो रकम नतिरेको भन्दै प्राधिकरणले पटक–पटक पत्राचार गरिरहेको छ ।



    तर, शिवम् सिमेन्टले भने आज प्रेस विज्ञप्ति जारी गरी उद्योगले कहिल्यै पनि डेडिकेटेड फिडर लाईन नलिएको झुटो कुरा लेखेर भ्रम सिर्जना गरेको छ । त्यतिमात्र होइन् शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्टै प्रधिकरणले धम्कीपूर्ण पत्राचार गरेको समेत उल्लेख गरेको छ । शिवम् सिमेन्टले आफूहरुले प्राधिकरणलाई कुनै पनि महशुल तिर्न बाँकी नरहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।



    यसरी हेटौँडा उपमहानगरपालिका–१६ हटियमा सञ्चालित शिवम् सिमेन्टले आम सर्वसाधरणलाई उल्लु बनाउन र सञ्चारमाध्यमहरुको साहारा लिनका लागि विज्ञप्ति जारी गरेको प्रष्ट देखिन्छ । हेटौटा शाखाले पटक–पटक बक्यौता तिर्न भन्दै शिवम् सिमेन्टलाई पत्राचार गरेको छ । हेटौंडा शाखाले पटक–पटक पत्राचार गर्दा समेत शिवम् सिमेन्टले आजसम्म किन बक्यौता बाँकी छैन भनेर विज्ञप्ति निकाल्न सकेन ? विभिन्न सञ्चारमाध्ययमा विद्युत महशुल तिर्न आनाकानी गर्दै शिवम् सिमेन्ट भनेर समाचार आएपछि मात्रै किन विज्ञप्ति जारी गर्यो त ? प्राधिकरणकै एक उच्च अधिकारी प्रश्न गर्छन् ।

    प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक मुकेश काफ्लेले यस्ता उद्योगलाई विजुली दिएर सर्वसाधरणलाई अन्धकारमा राख्ने गलत कार्य गरेका थिए । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि यस्ता उद्योगलाई दिएको थप सुविधा कटौती गरेर सर्वसाधरणलाई विजुली उपलब्ध गराउँदै नेपालबाट लोडसेडिङ हटाइएको थियो ।

    तर, शिवम् सिमेन्टले घिसिङलाई नै बद्नामी गर्ने गरि विज्ञप्ति निकालेको छ । बुधबार प्रकाशित एक दैनिक पत्रिकाको पहिलो पृष्ठमै विज्ञप्तिको नाममा विज्ञापन प्रकाशन गरेर शिवम् सिमेन्टले प्राधिकरणले उल्टै धम्की दिएको आरोप लगाएको छ ।

    पम्फा भुषाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेसँगै ट्रंक र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी थिइन्। सोही अनुसार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि बक्यौता तिर्न बाँकी उद्योग तथा कलकारखानाहरुको सूची तयार गरेर पैसा उठाउन ताकेता गरिरहेका छन् ।

    तर, शिवम् सिमेन्टले आज आएर विद्युत महशुल तिर्न बाँकी छैन र तिर्नेवाला पनि छैन भन्दै धम्कीपूर्ण शैलीमा विज्ञप्ति निकाल्दा अब प्रधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले कस्तो कदम चाल्ने हुन् ?

    सर्वोच्च अदालतले दुई वर्षअघि नै उक्त महसुल तिर्नका लागि शिवम् सिमेन्टलाई आदेश दिएको थियो । तर, शिवम् सिमेन्ट भने आज आएर विद्युत महशुल तिर्न बाँकी नरहेको भन्दै जनताको आँखामा छारो हाल्न खोजिरहेको छ ।

    यसरी सर्वोच्चको आदेशलाई समेत अवज्ञा गर्दै अझै पनि बक्यौता तिर्न आनाकानी गरिरहेका शिवम सिमेन्टका सञ्चालकहरु छुट गराउन शक्तिकेन्द्र धाइरहेका छन् । शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयल र निर्देशक रघुनन्दन मारु यतिबेला नेपाली कांग्रेसका प्रदेश सांसद इन्द्र बानियाँमार्फत उक्त बक्यौता मिनाहा गराउन शक्तिकेन्द्रमा धाइरहेका छन् । गोयल र मारु प्रदेश सांसद बानियाँमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवाकैमा भनसुन गर्न पुगेको स्रोतको भनाई छ ।

    आफूलाई नाफामा गएको कम्पनी भनेर प्रचार गर्ने तर २ अर्ब भन्दा बढि विद्युत महसुल नतिर्ने शिवम् सिमेन्टका सञ्चालकहरुको धन्दालाई प्रधिकरणका कार्यकारी निर्देशक घिसिङले कसैको दबाबमा नपरी असुल उपर गर्न सकेको खण्डमा बक्यौता नतिर्ने अन्य उद्योगहरु पनि राज्यको दायरामा आउने देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार