Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउने राष्ट्रसङ्घको चेतावनी, सहयोगका लागि अपील

    अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउने राष्ट्रसङ्घको चेतावनी, सहयोगका लागि अपील

    अनलाइन नेपाल
  • सोमबार, २८ भाद्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा ठूलो मानवीय सङ्कट आउन लागेको चेतावनी दिँदै त्यहाँ सहयोग उपलब्ध गराउन ६० करोड अमेरिकी डलर सङ्कलन गर्न खोजेको छ। राष्ट्रसङ्घले सोमवार जिनिभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दाताहरूसँग सहयोग आह्वान गर्न लागेको छ।

    गत महिना तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो। ‘अफगानहरूलाई तत्कालै खाना, औषधि, स्वास्थ्यसेवा, सुरक्षित पानी र सरसफाइ चाहिएको छ,’ राष्ट्रसङ्घले भनेको छ। साठी करोड डलर उपलब्ध भए दशौँ लाख मानिसलाई राहत पुग्ने उसले जनाएको छ।



    ‘त्यो देश एकदमै दारुण स्थितिमा छ अनि लामो द्वन्द्व, गम्भीर सुक्खा र कोभिड-१९ को महामारीबाट ग्रस्त छ… अनि देशको झन्डै आधा जनसङ्ख्या पहिल्यै सहायता आवश्यक पर्ने अवस्थामा थियो।’



    अहिलेको राजनीतिक परिवर्तनपछि उनीहरूको जोखिम झन् बढेको जनाउँदै राष्ट्रसङ्घले एउटा विज्ञप्तिमा भनेको छ, ‘नगद अभाव हुँदा अर्थतन्त्र बिस्तारैबिस्तारै रोकिने अवस्थामा पुगेको छ। महिला र बालिकाको अधिकारबारे चिन्ता बढेको छ।’

    अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्दै राष्ट्रसङ्घले तालिबानलाई सहयताकर्मीलाई नरोक्न आह्वान गरेको छ। अतिवादी तालिबान लडाकुहरूले अफगानिस्तानमा नियन्त्रण कायम गर्नुअघि नै द्वन्द्वका कारण साढे पाँच लाख मानिस आफ्नो वासस्थानबाट विस्थापित भएका थिए।

    अहिले अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित भएको मानिसको सङ्ख्या ३५ लाखजति छ। सोमवारको सम्मेलनमा राष्ट्रसङ्घका शीर्ष अधिकारीहरू तथा रेड क्रसजस्ता सहायता प्रदान गर्ने संस्था र विभिन्न देशका सरकारका प्रतिनिधिहरू सहभागी हुनेछन्। राष्ट्रसङ्घले सङ्कलन गर्न खोजेको रकमको एकतिहाइ भाग विश्व खाद्य कार्यक्रमलाई उपलब्ध गराइनेछ।

    यसैबीच राष्ट्रसङ्घको शरणार्थी हेर्ने निकाय यूएनएचसीआरका प्रमुख फिलिपो ग्र्यान्डीले आफू ‘देशको मानवीय आवश्यकता तथा ३५ लाख विस्थापित अफगानको अवस्था बुझ्न’ अफगानिस्तान पुगेको जानकारी ट्विटरबाट दिएका छन्। तालिबानले अगस्ट १५ मा काबुलमा कब्जा जमाएपछि हजारौँ मानिस देश छोडेर भागेका छन्। (बीबीसी : नेपाली)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार