Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मन्त्री रेणु यादवलाई बचाउ अभियानमा जसपा कार्यकर्ता, वर्खास्त गर्नुपर्ने चौतर्फी दबाब

    मन्त्री रेणु यादवलाई बचाउ अभियानमा जसपा कार्यकर्ता, वर्खास्त गर्नुपर्ने चौतर्फी दबाब

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 1.4K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रौतहटको गौर नरसंहार दोहो¥याउने र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको हत्या गर्ने आसयको उत्तेजक अभिव्यक्तिले मधेस प्रदेशको राजनीति तरंगित बनेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेतृसमेत रहेकी मन्त्री यादवले दिएको हिंसात्मक अभिव्यक्तिपछि उनलाई वर्खास्त गर्नुपर्ने चौतर्फी आवाज उठि रहेका छन् ।

    नेपाली कांग्रेसका शीर्ष नेताहरुसमेत मन्त्री यादवलाई राजीनामा दिन र राजीनामा नदिए प्रधानमन्त्रीले वर्खास्त गर्नुपर्ने भनिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मन्त्री यादवलाई वर्खास्त गर्न सरकारसँग माग गरिसकेको छ ।



    पदीय मर्यादा भुलेर दिएको हिंसात्मक अभिव्यक्तिले कानूनी राज्यको उपहास गरेको भन्दै नागरिक समाजले उनलाई बर्खास्त गर्न सरकारलाई सुझाव दिइसकेको छ । तर जसपाले यसबारे कुनै निर्णय गर्नु त परै जाओस आधिकारिक धारणासमेत सार्वजनिक गरेको छैन । अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गरेर उल्टै जनमत पार्टीलाई अराजक गतिविधि नगर्न चेतावनी दिए ।



    हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्री यादवको भिडीयो सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ । अभिव्यक्ति दिएको ५ दिन वितिसक्दा पनि यो प्रकरण सेलाएको छैन । अन्ततः मन्त्री यादवले सोमबार वक्ताव्य त जारी गरिन् । तर माफी मागिनन् । बरु आफ्नो अभिव्यक्तिलाई बंग्याएको भन्दै मिडियामाथि नै दोष थुपारे ।

    गल्ती स्वीकार गरी माफी माग्दा राजनीतिक रुपमा हार हुने र यसले राउतलाई फाइदा गर्ने संशय मन्त्री यादवले राखेको देखिन्छ । त्यसैले सिके राउतको लोकप्रियता अझै बढ्ने भय देखेर जसपाले मन्त्रीको बचाउ र राउत नेतृत्वको जनमत पार्टीविरुद्ध आन्दोलन शुरु गरेको छ ।

    सोमबार मधेश प्रदेशका अधिकांश जिल्लाहरुमा जसपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शनमा अधिकांश महिला सहभागी थिए । उनीहरुले संघीयता विरोधी मुर्दावाद, सीके राउत गो ब्याक, किसानको नाममा अराजक गतिविधि बन्द गर जस्ता नारा लगाएका छन् । यतिमात्र होइन् जसपाका नेताहरु सामाजिक सञ्जालमा सीके राउतविरुद्ध भिडन्त नै गर्ने खालको अभिव्यक्ति दिइरहेका छन् ।

    एकतिर जसपाले आन्दोलन थालेको छ भने अर्कातीर मन्त्री यादवको राजीनामा माग्दै जनमत पार्टी र नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ सडकमा उत्रेका छन् । आइतवार जनकपुरमा प्रदर्शन गरेका यूवा संघका मधेस प्रदेश अध्यक्ष जानी खान मधेसीले मन्त्री यादवलाई बर्खास्त नगरे सशक्त आन्दोलन गर्ने बताएका थिए ।

    भड्किलो भाषामा उनले चेतावनी दिएका थिए, ‘लोकतन्त्रमा जुनसुकै दललाई शान्तिपूर्ण आन्दोलन छुट छ । कालोझण्डा देखाएकै निहुँमा मन्त्री यादवले हत्या गर्ने धम्की दिन मिल्दैन । हामी उनलाई बर्खास्त गर्न आन्दोलन गरिरहेका छौं । हिम्मत छ भने जसपा कार्यकर्ता हामीसँग भिड्न आओस् ।’

    यूवा संघका प्रदेश अध्यक्ष र जसपा नेताहरुको अभिव्यक्तिले अब मधेसमा भिडन्तको स्थिति सृजना भएको स्पष्ट बुझ्न सकिन्छ । किसान आन्दोलनको विपक्षमा उत्रनेविरुद्ध प्रतिकार गर्न तयार रहेको जनमत पार्टीका नेताहरुलेसमेत चेतावनी दिएका छन् ।

    नेकपा माओवादी केन्द्रका सांसद दिलिप साहले मन्त्री यादवको अभिव्यक्तिले मधेसमा मुठभेडको स्थिति सृजना गराएको बताउँछन् । मन्त्री यादवले आक्रोशित भएर मर्यादा विपरीत र हिंसात्मक अभिव्यक्ति दिएको उनको पनि स्वीकारोक्ति छ । सत्ता साझेदार माओवादीका नेतासमेत रहेका उनी भन्छन्, ‘मुठभेडको स्थिति अन्त्य गर्न मन्त्री यादवले राजीनामा दिनुपर्छ । र सरकारले अबिलम्ब किसानको माग पूरा गर्नुको विकल्प पनि छैन ।’

    नेपाली कांग्रेसका प्रदेश सांसद नरेश यादवले पनि मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएर मधेसमा मुठभेड गराउन खोजेको बताउँछन् । उनले मन्त्री यादवले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार