Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माधव नेपालका कारण मन्त्री आले धर्मसंकटमा, पर्यटनमन्त्री आले कि बुढा ?

    माधव नेपालका कारण मन्त्री आले धर्मसंकटमा, पर्यटनमन्त्री आले कि बुढा ?

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा ११औं तहका प्रदीप अधिकारीलाई नियुक्त गरेसँगै चौतर्फी विरोध शुरु भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ६ जना उपमहानिर्देशक हुँदा हुँदै ११औं तहका जुनियर अधिकारीलाई प्राधिकरणको जिम्मेवारी सुम्पने निर्णय गरेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकमा प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका थिए। अधिकारीलाई मन्त्री आलेकै सिफारिसमा नियुक्ति दिलाइएको हो ।



    प्राधिकरणमा १२औं तहका ६ जना कर्मचारी हुँदा हुँदै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वार्थमा पर्यटनमन्त्री आले ११ औं तहका जुनियर अधिकारीलाई महानिर्देशक बनाउन बाध्य भएका हुन् ।



    अधिकारीलाई महानिर्देशक बनाउन अध्यक्ष नेपालसम्म आर्थिक चाँजोपाँजो मिलाउने व्यक्ति भने पूर्व पर्यटनमन्त्री धनबहादुर बुढा रहेको आले निकट स्रोतको भनाई छ । अधिकारीलाई महानिर्देशक बनाउन बुढाले अध्यक्ष नेपालदेखि बालुवाटरसम्म १० करोड बुझाएको भन्दै पर्यटन मन्त्रालयमै मन्त्री आलेले नै सिनियर उपमहानिर्देशकहरुलाई बताएको स्रोतको दावी छ ।

    यसअघिको बढुवामा अधिकारीकै नाम छुटाएका मन्त्री आलेले अहिले तिनै जुनियरललाई किन महानिर्देशक बनाए ? भन्ने प्रश्नले यतिबेला सामाजिक सञ्जालमात्रै होइन मिडियाका पानाहरु समेत भरिएका छन् । पर्यटन मन्त्रालयका एक अधिकारी भन्छन्–‘पहिला मन्त्रीज्यूले भ्रष्ट, जुनियर र विवादास्पद भन्दै प्रदीप अधिकारीलाई १२औं तहको बढुवामा नाम छुटाइदिनु भयो। तर, अहिले उहाँ एकाएक यूटर्न भएर १२औं तहका सिनियरलाई पाखा लगाइ उनै जुनियर र भ्रष्टलाई मन्त्रिपरिषदमा लगेर महानिर्देशक बनाउनु भयो।’

    शुरुदेखिनै अधिकारीसँग रुष्ट रहेका मन्त्री आलेले आफ्नै पार्टीका अध्यक्ष माधव नेपालले धनबहादुर बुढामार्फत ठूलो रकम लिएर महानिर्देशक बनाएको भन्दै एमाले निकट पत्रकारहरुसामु गुनासो गरेका छन् । उनले मन्त्रीपरिषद्ले निर्णय गर्नु अघि नै प्रदिप अधिकारी महानिर्देशक बनेको र आफूले रोक्न नसकेको मन्त्रलयको एक वैठकमा बताएका थिए ।

    स्रोतका अनुसार धनबहादुर बुढाले एयरपोर्टहरुका अर्बौंका ठेक्का हात पार्न अधिकारीलाई लगानी गरेका हुन् । बतास प्रकरणमा हाईहाई कमाएका आले अधिकारीको नियुक्तिमा बद्नाम हुन पुगेपछि एमालेका केही पत्रकारहरुलाई माधव नेपालकै विरुद्धमा समाचार लेख्न आग्रह गर्न थालेको स्रोत बताउँछ ।

    वतास प्रकरणमा चर्चा कमाएका मन्त्री आलेमाथि यसअघि क्यासिनोको लाइसेन्स बाँड्दा करोडौं घुस असुली गरेको आरोप लागेको थियो ।

    आलेले महानिर्देशक बनाउन बाध्य भएको अधिकारी उनै कर्मचारी हुन्, जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, निजगढी अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्राधिकरणका सबै राष्ट्रिय गौरबका आयोजनाका प्रमुख बनेर अर्बौका ठेक्कामा सेटिङ गरी करोडौंलाभ लिएको आरोप खेप्दै आएका छन् ।

    पोखरा विमानस्थलको लागत खर्च दोब्बर बनाएर अधिकारीले नै २५ अर्ब पुर्याए । तर, विमानस्थलको माथिबाट बग्ने सिंचाइ कुलोको व्यवस्थापन नगर्दा विमानस्थल हिलाम्ये भएको देखेपछि केही समय अघि मन्त्री आलेले नै चाईनिज ठेकेदारलाई बोलाएर झपारेका थिए । अधिकारीविरुद्ध पटक–पटक अख्तियारमा मुद्दा परेको थियो ।

    मन्त्री आलेले यस्ता भ्रष्ट र जुनियर कर्मचारीलाई प्राधिकरणको महानिर्देशक बनाएपछि अहिले पर्यटनमन्त्री आले हुन् कि बुढा हुन ? भनेर प्रश्न उठ्न थालेको छ ।

    अहिले प्राधिकरणमा १२औं तहका प्रेमनाथ ठाकुर, भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र हंशराज पाण्डे उपमहानिर्देशक छन् ।

    ठाकुर निमित्त महानिर्देशक छन् भने गुरागाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय प्रमुख र तिवारी नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान प्रमुख छन् । त्यसैगरी कर्ण एभिएशन सेफ्टी तथा सेक्युरिटी रेगुलेशन निर्देशनालय प्रमुख छन् भने दाहाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख र पाण्डे एभिएशन सर्भिसेस निर्देशनालय प्रमुख छन् ।

    यति हुँदा हुँदै पनि जुनियर र भ्रष्टाचारमा गन्हाएका अधिकारीलाई महानिर्देशक बनाउनुको एक मात्र कारण आर्थिक चलखेल नै रहेको स्रोतको दावी छ ।

    यी हुन् विवादास्पद र कनिष्ट प्रदीप अधिकारी 

    प्रदीप अधिकारी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, निजगढी अन्तर्राष्ट्रिय विमानस्थल जस्ता प्राधिकरणका सबै राष्ट्रिय गौरबका आयोजनाका प्रमुख बनेर अर्बौका ठेक्कामा सेटिङ गरी करोडौंलाभ लिएको आरोप खेप्दै आएका व्यक्ति हुन् अधिकारी । अधिकारीविरुद्ध पटक–पटक अख्तियारमा मुद्दा परेको थियो । पोखरा एयरपोर्टमा कार्यरत हुँदा उनीविरुद्ध स्थानियले आन्दोलन समेत गरेका थिए ।

    अधिकारीको सेटिङमा २ बर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे को ठेक्का दिइएकोमा २० प्रतिशत पनि काम भएको छैन ।

    अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन (एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै निश्चित ठेकेदारलाई दिनेगरी सेटिङ गरेका थिए । करिब नौ अर्ब २० करोड रुपैयाँको यो ठेक्कामा सहभागी हुनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाबाट २ अप्रिल २०१९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

    १७ मे २०१९ को अन्तिम मिति राखेर आह्वान गरिएको सो टेण्डरमा ख्यातीप्राप्त अन्तर्राष्ट्रिय निर्माण कम्पनीहरूका तर्फबाट एकल र संयुक्त उपक्रम गरी ७ वटा प्रस्ताव पेश भएका थिए । जसको प्राविधिक प्रस्ताव मूल्यांकनकै क्रममा अधिकारीले सेटिङमा ५ वटा कम्पनीलाई फेल गराई अघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशन र चाइना मेसिनरी इञ्जिनियरिङ कर्पोरेशन (सीएमसीई) लाई मात्र पास गराएका थिए । प्राविधिक प्रस्तावमा पास गरिएका दुवै कम्पनी चाइना रेलवे इन्जीनीयरिङ कम्पनीकै सहायक कम्पनी हुन् ।

    एउटै कम्पनी अन्तर्गतका दुई सहायक कम्पनीको प्राविधिक प्रस्ताव पास गरी आर्थिक प्रस्ताव माग गरिएको थियो, जसमा दुवैले मिलेर प्रस्ताव हालेका थिए । चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई कम दरमा प्रस्ताव गरेको देखाएर प्रदीप अधिकारीको सेटिङमा ठेक्का दिइएको थियो । यी दुवै कम्पनीको एजेन्ट यति ग्रुप हो । जसले २ बर्षसम्म २० प्रतिशत पनि काम गरेको छैन । दुई कम्पनीबाहेक अरुलाई प्राविधिक प्रस्तावमा पास हुन दिएको भए ट्याक्सी वेको निर्माण २ अर्ब कम मूल्यमा हुनेथियो । तर, प्रदीप अधिकारीले यतिसँग सेटिङ गरी राज्यलाई २ अर्ब नोक्सान पार्ने काम गरेका थिए ।

    सात वटा कम्पनीमध्ये ५ वटालाई प्राविधिक रुपमा अयोग्य ठहर्याउने क्रममा नारायणगढ–बुटवल सडक निर्माण गर्ने चीनको प्रख्यात कम्पनी स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनलाई समेत अयोग्य ठहर्याई प्रतिस्पर्धा नै सीमित गरी सेटिङको कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई ठेक्का दिइएको थियो, जसको नेपाली एजेन्ट यति समूह नै हो । यति समूह एजेन्ट रहेको चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनले परियोजनाको काम २० प्रतिशत पनि गरेको छैन ।

    नारायणगढ–बुटवल सडक खण्डको निर्माण गरेको स्टेट कन्ष्ट्रक्सन इन्जीनीयरीङ कर्पोरेसनले आफ्नो कम्पनीलाई कुनै कारणविना नै नियतबस प्राविधिक प्रस्तावमा अयोग्य ठहर गरिएको उजुरी हवाई यातायात क्षमता अभिबृद्धि आयोजना, नागरिक उड्डयन प्राधिकरण, संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमा पनि दियो । एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन (एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि भएको ठेक्कामा अनियमितता भएको उजुरीमा पर्यटन मन्त्रालयले समेत छानबिन नगरी गुपचुप राख्ने काम गरेको थियो ।

    अधिकारीमाथि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा पनि चिनियाँ ठेकेदारसँग सेटिङ गरी लागत दोब्बर बढाएर करोडौ लाभ लिएको आरोप छ ।

    पोखराको विमानस्थलको लागत दोब्बर बढाएर ठेक्का लिएको चाइनीज कम्पनीले सिंचाईको लागि कुलोको समेत ब्यवस्थापन नगरेको स्थानीयको गुनासोपछि पर्यटन मन्त्री प्रेम आलेले चिनियाँ ठेकेदारलाई बोलाएर कुलोको पानी एयरपोर्टमा नआउनेगरी ब्यवस्थापन नगरेसम्म भुक्तानी नगर्न प्राधिकरणका अधिकारीलाई निर्देशन दिनुपरेको थियो । मन्त्री आले २०७८ मंसिर १७ गते पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निरीक्षण गर्न जाँदा चिनियाँ ठेकेदार कम्पनी सीएएमसका प्रतिनिधि नै नआएपछि उनले सोधीखोजी गरेका थिए ।

    मन्त्री आलेले विमानस्थल निर्माणमा लापरबाही गरेको देखिएपछि ठेकेदारका प्रतिनिधिको खोजी गरेका थिए । तर, ठेकेदारलाई खोजी गर्दा पनि उपस्थित नभएपछि उनले विमानस्थलमा सिंचाईका लागि खनिएको कुलोबाट पानी विमानस्थलमा नआउने गरी स्थायी संरचना नबनाएसम्म भुक्तानी नदिन निर्देशन दिएका थिए । पोखरा विमानस्थल चीनको एक्जिम ब्याङ्कको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपियाँको निर्माण भएको हो ।

    जबकि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत पहिलो चरणको ९ अर्ब र दोस्रो चरणमा १० अर्ब खर्च हुने अनुमान गरिएको छ । पोखरादेखि भैरहवा विमानस्थलको ठेक्का प्रक्रियादेखि लाइटिङ र माटो पुर्ने लगायतका हरेक काममा प्रदीप अधिकारीले करोडौंको भ्रष्टाचार गरेको स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार