Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेपाल र भारतीय सेनाबीचको सम्बन्ध ऐतिहासिक: प्रधानसेनापति शर्मा

    नेपाल र भारतीय सेनाबीचको सम्बन्ध ऐतिहासिक: प्रधानसेनापति शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले कोभिड–१९ महामारीविरुद्धको लडाइँमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिकिकरणमा भारतीय सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।

    मंगलबार भारतको ७४ औं सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावसको रक्षा प्रभागले आयोजना गरेको एक कार्यक्रममा प्रधानसेनापति शर्माले यस्तो प्रशंसा गरेका हुन्।



    प्रसिद्ध प्रबल जनसेवा जनरल शर्माले भारतका सेनाध्यक्ष एवम नेपाली सेनाका मानार्थ महारथी जनरल एमएम नरवणेलाई भारतको ७४ औं सेना दिवसको अवसरमा शुभकामना व्यक्त समेत गरे । उनले दुई सेनाबीचको गहिरो सम्बन्ध र लामो समयदेखिको सहकार्यबारे चर्चा गर्दै कोभिड–१९ महामारीविरुद्ध भारतीय सेनाले खेलेको भूमिकाबारे स्मरण गरे ।



    कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशलाई भ्रातृवत सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे ।

    भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उनले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहोर्याए।

    राजदूत क्वात्राले सन् २०२१ डिसेम्बर आठमा हवाई दुर्घटनामा परी मधुलिका रावत र अन्य ११ जना सैनिकसहित दिवंगत भएका जनरल विपिन रावतप्रति श्रद्धञ्जलि अर्पण गरे।

    नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रसिद्ध प्रबल जनसेवा जनरल प्रभुराम शर्मा सो समारोहको प्रमुख अतिथिको रुपमा थिए । समारोहमा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी, थिंक ट्यांकका सदस्य र पत्रकारहरुको उपस्थिति थियो ।

    सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार