Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एआईजी सिफारिसँगै डिआईजी बन्न एसएसपीहरुबीच तँछाडमछाड, चलखेलले संगठन नै अस्तव्यस्त

    एआईजी सिफारिसँगै डिआईजी बन्न एसएसपीहरुबीच तँछाडमछाड, चलखेलले संगठन नै अस्तव्यस्त

    अनलाइन नेपाल
  • शुक्रबार, ४ चैत्र २०७८
  • 3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस भएसँगै खाली हुन लागेको डिआईजी पदमा बढुवा हुन एसएसपीहरुले चलखेल शुरु गरेका छन् । एआईजी बढुवामा सिनियर र क्षमता भएका डिआईजी नै छुटेपछि गृहमन्त्री बालकृष्ण खाँडको चौतर्फी आलोचना भइरहेको छ । बालुवाटारबाट लिष्ट आएका कारण गृहमन्त्री खाँड एआईजी बढुवा सिफारिसमा हैसियविहित बन्न पुगेको गृहमन्त्रालय स्रोत बताउँछ ।

    गृह सचिव टेकनारायण पाण्डे अध्यक्ष रहेको बढुवा समितिको मंगलबार बसेको बैठकले डिआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजी बढुवा गर्नेछ । उनीहरुको बढुवासँगै तीन डिआईजी पद रिक्त हुन्छ ।



    रिक्त डिआईजी पदमा पनि पुरानै शैली हावी हुने खतरा देखिएको छ । सिनियर र क्षमतावानलाई छुटाएर जुनियरलाई बढुवा गर्ने सम्भावना बढ्न थालेको छ । डिआईजीमा बढुवा हुन सबैभन्दा जुनियर एसएसपी अशोक सिंहले सर्वाधिक चलखेल गरिरहेका छन् । गृहमन्त्री खाँड एसएसपी सिंहको नाम लिनै चहँदैनन् तर, उनले बालुवाटारबाट दबाब दिएको गृहस्रोत बताउँछ ।



    महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख रहेका बेला प्रहरी आचरण विपरित काम गरेको भन्दै एसएसपी सिंहमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति नै गठन गरेको थियो । एसएसपी सिंहमाथि राजकुमार बोहोराको हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउन खोज्ने सुभास भेटवालसँग मिलेको आरोप छ । जुन विषयमा छानविनमाथि गृहले निर्णय गर्न बाँकी छ । २०७७ वैशाखमा एसएसपीमा बढुवा भएका उनै सिंह अहिले डिआईजी बन्न सर्वाधिक चलखेल गरिरहेका छन् । झण्डै दुई वर्ष अघि एसएसपीमा बढुवा भएकाहरुलाई पछि पार्दै सिंह डिआईजी बन्न खोजिरहेका छन् ।

    २०७५ फागुन ६ मा एसएसपीमा बढुवा भएका अधिकृतहरु सन्दिप भण्डारी, दीपक थापा, टेकप्रसाद राई, श्याम ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, किरण बज्राचार्य, वसन्तबहादुर कुँवर, मीरा चौधरी थारु, बुद्धिराज गुरुङ, पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि डिआईजी बन्न लविङमा छन् ।

    त्रिभुवन विमानस्थलको प्रमुख हुँदा तस्करसँग मिलेको अरोप लागेका भण्डारी कुनै पनि हालतमा डिआईजीमा बढुवा हुनुपर्यो भन्दै शक्तिकेन्द्र धाइरहेका छन् । भण्डारीलाई डिआईजी बनाउन एयरपोर्टमा डलर तस्करी गर्दा गर्दै पक्राउ परेका सुवास श्रेष्ठ हात धोएर लागि परेका छन् । भण्डारी प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारीका भाई हुन् । उनी एमालेबाट सभामुख भएका थिए ।

    यता, महानगरीय प्रहरी परिसर भक्तपुमा एसपी हुँदा बेवारिसे शव व्यवस्थापनमा निकासा भएको सरकारी पैसा हिनामिना गरेको आरोप लागेकी एसएसपी किरण बज्राचार्य पनि डिआईजी बन्न दौडधुप गरिरहेकी छन् । किरणविरुद्ध परेको उजुरी अहिलेपनि अख्तियारमा विचाराधिन छ ।

    प्रहरीभित्र चेन अफ कमाण्डमा कमजोर मानिएका पोषराज पोखरेल र टेकबहादुर तामाङ पनि लविङमा छन् भने टेकप्रसाद राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको सोर्सफोर्समा डिआईजी हुने आशमा छन् । उमेशराज जोशी र रामदत्त जोशी भने सुदूरपश्चिमका भएकाले प्रधानमन्त्रीको आशिर्वाद पाउनेमा ढुक्क छन् ।

    त्यसैगरी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भित्रिया भनेर चिनिएका भिम ढकाल सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत बढुवाका लागि चलखेल गरिरहेका छन् ।

    सिनियर एसएसपी हुँदा हुँदै जुनियरहरुले चलखेल बढाएपछि प्रहरी प्रधान कार्यालयदेखि गृहमन्त्रायसम्म हलचल मच्चिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएकाहरु अझै पनि एसएसपी नै रहेको अवस्थामा जुनियरहरुको चलखेल बढेको हो । क्षेत्रीसँगै भर्ना भएकाहरु राजेन्द्रप्रसाद चौधरी, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्ट तथा आईजीपीको ब्याचमेट भन्दा पछाडि २०४९ चैत ११ मा भर्ना भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, मसउद आलम खाँ पनि बढुवाको लविङमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार