Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मालपोत प्रमुखको कीर्ते धन्दा, प्रहरीकै कागजात नक्कली बनाई जग्गा रोक्का

    मालपोत प्रमुखको कीर्ते धन्दा, प्रहरीकै कागजात नक्कली बनाई जग्गा रोक्का

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 31.8K
    SHARES

    काठमाडौं । मालपोत कार्यालय चावहिलका प्रमुख हिमालयजीबी उपाध्याय र मुद्दा शाखामा कार्यरत खरिदार चित्र खतिवडाले प्रहरीको कीर्ते कागजातका आधारमा जग्गाधनीलाई थाहा नदिई जग्गा रोक्का राखेका छन् । प्रहरी कार्यालयले जारी नै नगरेको पत्रका आधारमा जग्गा रोक्का गर्ने उपाध्याय र खतिवडाको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मालपोत प्रमुख उपाध्याय र खतिवडा मिलेर कीर्ते कागजात तयार गरेर पीडितलाई झन पिडा दिने गरी ठूलो रकम माग गरेको समेत रहस्य खुलेको छ ।

    बुढानीलकण्ठ नगरपालिका–५ (साविक विष्णु गा.वि.स. ८ घ) को कित्ता नं. २४८ को २ रोपनी ५ आना जग्गामध्ये जग्गाधनी ठूलीमाया ठकुरीले १ रोपनी ८ आना विक्री गर्नका लागि मालपोतमा निवेदन दिइन् । सोही अनुसार मालपोत कार्यालय चावहिलले कित्ताकाट गर्ने आदेश दियो । तर, एकाएक मालपोत प्रमुख उपाध्यायले कित्ताकाट गर्न आदेश दिएको एक महिना नवित्दै नापी कार्यालयलाई पुनः पत्र लेखी कित्ताकाट बदर गर्न आदेश दिए ।





    यतिमात्र होइन उपाध्यायले कित्ताकाट बदर गरी कीर्ते कागजात तयार गरेर जग्गाधनीलाई समेत थाहै नदिई आफैले जग्गा रोक्का राखेको समेत प्रमाण फेला परेको छ ।

    मालपोत कार्यालय चावहिलले ठूलीमाया ठकुरीको नाममा रहेको उक्त जग्गा २०७८ साल मंसिर १६ गते तत्कालीन महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट पत्र प्राप्त भएको भनी जग्गा रोक्का राखेको लालपूर्जामै उल्लेख गरेको छ । लालपूर्जामा २०७८ साल मंसिर १६ गते चलानी नं. ५०८८ को पत्र महाराजगञ्ज प्रहरीबाट आएको उल्लेख गरिएको छ । जब कि उक्त दिन चलानी नम्बर ५०८८ भएको कुनै पनि पत्र जारी नभएको महाराजगञ्ज प्रहरी नै बताउँछ । उक्त दिन जारी भएको भनिएको पत्रको बारेमा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । कीर्ते पत्र तयार गर्ने र पेश गर्नेहरुको प्रहरीले खोजी सुरु गरेको छ ।

    पीडित पक्षका अनुसार मुद्दा शाखामा कार्यरत खतिवडाले दुई पटक इसारा गर्दै २० लाख रुपैयाँ माग गरेका थिए । उक्त रकम माग गरेपछि जग्गा खरिदकर्ताहरुले प्रश्न उठाउँदै भिडियो खिचेपछि कार्यालयमा कार्यरत अन्य कर्मचारीहरुले लेखापढी संघका अध्यक्षको समन्वयमा मुद्दा शाखाले गलत गर्यो, हामी माफी माग्छौं भन्दै जग्गा पास गरिदिएका थिए । मुद्दा शाखाका खतिवडा भक्तपुर मालपोतमा हुँदा पनि धेरै जग्गा गडबडीमा मुछिएका कर्मचारी हुन् । उनी मालपोतका करोडौंपति खरिदारका रुपमा चिनिन्छन् । जग्गा रोक्काको विषयमा बुझ्न मालपोत प्रमुख उपाध्यायसँग पटक–पटक फोन सम्पर्क गर्दा उनको फोन उठेन ।

    यसै सम्बन्धमा पूर्ण अपांग रहेका नवीन ठकुरी, बृद्ध भइसकेका बमबहादुर ठकुरी, ठूलीमैया ठकुरी, प्रतिक्षा ठकुरी र राजु ठकुरीसमेतलाई विपक्षी बनाई उनीहरुकी बुहारी सविता कार्की ठकुरीले बाँकी रहेको १३ आना जग्गा सात भाग लगाई आफ्नो भाग पाउँ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् । उक्त मुद्दाको विषयमा अदालतले २०७८ चैत २५ गते अंशियारहरुका बीचमा मिलापत्र गरेको थियो ।

     

    सोही मिलापत्रबाट दाखिला खारेज गर्नका लागि मालपोत कार्यालय चावहिलमा निवेदन दिंदा हुँदै नभएको कीर्ते कागज तयार गरी २०७९ बैशाख ११ को चलानी नम्बर ४७८९ मार्फत् २०७६ असोज १७ को पत्रबाट रोक्का रहेको उल्लेख गरिएको छ । सो सम्बन्धमा मालपोत कार्यालय चावहिलले के गर्ने भनी महाराजगञ्ज प्रहरीलाई पत्र लेखेर आफूले भ्रष्टाचार गरेको भण्डाफोर आफैले गरेको छ ।

    २०७६ साल मंसिर १६ गते भनिएको पत्रलाई मिति सच्याइ २०७८ साल मंसिर १६ बनाएर मालपोत आफैले जग्गा रोक्का राखेको पनि पुष्टि भइसकेको छ । २०७८ साल चैत २५ गते अदालतबाट मिलापत्र भई टुंगिसकेको केसलाई २०७६ सालको पत्रको हवाला दिंदै जग्गा रोक्का राखी प्रहरीलाई नै गुमराहमा राखेर पत्र काट्नुमा मालपोत प्रमुख उपाध्याय र मुद्दा शाखाका खतिवडाको ठूलो स्वार्थ रहेको देखिन्छ । उनीहरुले गैरकानूनी कीर्ते काम गरी रकम असुल्न खोजेपछि पीडितहरुले अख्तियारमा मुद्दा दायर गरेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार