Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रालय, अख्तियार र सतकर्ताको निर्देशन लत्याउँदै वीर अस्पतालका कर्मचारी, समायोजनमा जान अझै आनाकानी

    मन्त्रालय, अख्तियार र सतकर्ताको निर्देशन लत्याउँदै वीर अस्पतालका कर्मचारी, समायोजनमा जान अझै आनाकानी

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 798
    SHARES

    काठमाडौं । वीर अस्पतालबाट विभिन्न स्थानीय तह, प्रदेश तथा संघका विभिन्न स्वास्थ्य संस्थामा समायोजन, पदस्थापना तथा सरुवा भएका ९१ जना स्वास्थ्यकर्मीहरु समायोजन भएको स्थानमा जान आनकानी गरिरहेको पाइएको छ ।

    कर्मचारी समायोजन ऐन २०७५ अनुसार समायोजनमा परेका उनीहरु अहिले पनि वीर अस्पतालमै कार्यरत रहेका छन् । समायोजनको वर्षौं वितिसक्दा पनि कर्मचारीहरु बीरमै अड्डा जमाएर बसेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २७ गते परिपत्र गरी समायोजन, पदस्थापन, कामकाज तथा सरुवा भएका कर्मचारीलाई रमना दिई सो को जानकारी ७ दिनभित्र दिन परिपत्र गरेको थियो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पनि तत्काल सरुवा पदस्थापन कामकाज गर्न खटाइएका कर्मचारीलाई ७ दिन भित्र रमाना पठाउन निर्देशन दिएका थिए । उक्त निर्देशन कार्यान्वयन नभए हाजिर गराउने कार्यालय प्रमुखबाट निजहरुले खाईपाई आएको तलबभत्ता असुल उपर गर्ने निर्देशन दिएपछि वीर अस्पतालले २०८० जेठ ११ गते दरबन्दी बेगरका ९१ जना कर्मचारीलाई ७ दिनभित्र रमाना लिई समायोजना भएको स्थानमा जानलाई निर्देशन दिएको थियो ।



    साउन १ गते दरबन्दी बेगरका ९१ जना कर्मचारीको हाजिर काटिए पनि उनीहरु अहिलेसम्म पनि वीर अस्पतालमै कार्यरत रहेका छन् । सतर्कता केन्द्रले पनि समायोजन भएको ठाउँमा नगएका कर्मचारीले खाईपाई आएको तलब भत्ता असुल उपर गर्न २०७९ फागुन ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो ।

    असार ७ गते वीर अस्पतालका कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालयमा उजुरी हालेका थिए ।९१ जनामध्ये १२ जना कर्मचारीले समायोजन छल्नका लागि मेडिकल बोर्डमा नक्कली रिपोर्ट तयार गरी स्वास्थ्य मन्त्रालयमा पेश गरेको पनि वीर अस्पताल स्रोत बताउँछ ।

    सोही आधारमा ती स्वास्थ्यकर्मीहरुलाई समायोजन ऐन २०७५ को दफा ८ को उपदफा ४ बमोजिम संघमै पुल दरबन्दीमा राखि वीर अस्पतालमा कामकाजका लागि खटाइएको थियो ।

    स्वास्थ्यमा समस्या भएका कारण समायोजन भएको ठाउँमा जान नसक्ने भनी पत्र बनाएका वीरका केही कर्मचारी अहिले पनि मोटरसाइकल चढेर कार्यालय आउने जाने गर्छन् । जबकी कतिपयले त मेरुदण्डमा नै समस्या भएको नक्कली रिपोर्ट मेडिकल बोर्डबाटै बनाएका छन् । त्यतिमात्रै होइन उनीहरु अस्पतालको कमाउ अड्डाको रुपमा चिनिएको स्टोर खरिद जस्ता अत्याधिक खटिने स्थानमा काम गरीरहेका छन् । केही कर्मचारी भने अदालतको अन्तरिम आदेश अनुसार अस्पतालमै कार्यरत रहेका छन् ।

    अहेब डिल्लीराम खनाल, टिकाराम पनेरु, युवराज सुवेदी, डिल्ली आचार्य, जिवनकुमार श्रेष्ठ, युवराज तिमल्सिना, सविता जोशी, शंकर झा लगायतले नक्कली रिपोर्ट बनाएको बीर अस्पताल स्रोत बताउँछ । मेडिकल बोर्डबाट भएको सिफारिसले ६ महिना मात्र काम गर्ने भएकाले उनीहरु खुलमखुल्ला रुपमै फेरि पनि नयाँ सिफारिस बनाउने भन्दै हिडिरहेका छन् ।

    त्यसैगरी खुबराज आचार्य, महादेव वन्त, राजकुमार तिंकली इन्दिरा गैरे, दिनेश कुमार जैसवाल, पाण्डव बराल, विष्णु फुयाँल, इश्वरी राजभण्डारी, सीता केसी, सीता ढकाल आचार्य, सोविता घिमिरे, रस्ता कवाँ, महेश बराल, पार्वती लामिछाने, रचना क्षेत्री, कल्पना श्रेष्ठ, रस्मी थापालगायत ९१ जना कर्मचारी समयोजन भएको ठाउँमा नजान कानूनका छिद्रा खोजिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार