Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • टेरामक्स बारे एनसेलले भन्यो–कुनै पनि परिस्थितिमा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं

    टेरामक्स बारे एनसेलले भन्यो–कुनै पनि परिस्थितिमा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं

    अनलाइन नेपाल
  • शुक्रबार, २६ साउन २०८०
  • 861
    SHARES

    काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजिएटाले कुनै पनि परिस्थितिमा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता नगर्ने जनाएको छ । विवादित टेरामक्स प्रणालीसँग आफ्नो प्रणाली इन्टिग्रेट वा कनेक्ट नगरेको बताउँदै एनसेलले टेरामक्सले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययनकै क्रममा रहेको र यसबारे स्पष्ट नभएसम्म इन्टिग्रेसन नहुने जनाएको हो ।

    एनसेलद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौँ र कुनै पनि अनाधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं । हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहकको गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।’



    नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने एनसेलले टेरामक्स कार्यान्वयनका लागि १५ दिनको समय माग्दै आफूहरूलाई पत्र पठाइसकेको जनाएको छ । नागरिकको गोप्य सूचना दिन एनसेल तयार भएको भन्ने खालका समाचार आएपछि कम्पनीले त्यसको खण्डन गर्दै टेरामक्सबारे अध्ययनकै चरणमा रहेको जनाएको हो ।



    एनसेलले भनेको छ–‘हामी ग्राहकका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं, समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन । न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।’

    कल डिटेल, एसएमएसलगायत अति व्यक्तिगत विवरण संकलन हुने भएकाले गोपनीयताको विषय जोडिएर पटक–पटक विवादमा आएको टेरामक्स प्रविधि तत्काल कार्यान्वयनमा ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई साउन ८ मा पत्र पठाएको थियो । साउन १८ मा उक्त प्रविधि कार्यान्वयनमा नआए कुनै पनि सहजीकरणमा सहयोग नगर्ने चेतावनी दिएको प्राधिकरणले निर्देशन अवज्ञा गरेपछि नेपाल टेलिकमलाई प्रदान गर्ने सहजीकरण सुविधा रोकि‍दिएको छ । एनसेलले भने प्राधिकरणको निर्देशन मानेको बताइए पनि हाल कम्पनीले भने गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे अध्ययनपछि मात्रै निर्णय गर्ने भनेको छ ।

    यस्तो छ एनसेलको विज्ञप्ति

    भ्रामक समाचारको खण्डन

    एनसेल एक राष्ट्रिय दैनिक पत्रिका र सोही पत्रिकाको अनलाइन न्युज पोर्टलमा बिहीबार (साउन २५) ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन र घोर भर्त्सना गर्दछ । यो समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरेको हाम्रो ठम्याइ छ ।

    यो कम्पनीको प्रतिष्ठामा आँच पुऱ्याउने गम्भीर प्रयास भएको र केही सीमित समूहको निहित स्वार्थ पूरा गर्न कम्पनीलाई सिकार बनाइएको हो भन्ने हाम्रो विश्वास छ । यस्ता झुटा, आधारहीन, भ्रामक र असन्तुलित समाचारबाट भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।

     

    सोही समाचारका सम्बन्धमा हामी निम्न विषय स्पष्ट पार्न चाहन्छौं

    • हामी ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिन्छौं । समाचारमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति दिइएको छैन । न त हामी कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नै भएका छौं ।
    • एनसेलले आफ्नो सिस्टमलाई समाचारमा उल्लेख भएझैं टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट/कनेक्ट अर्थात जोडेको छैन । कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं ।
    • हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।
    • टेरामक्स सम्बन्धी प्राविधिक अध्ययनको निष्कर्ष र प्रचलित कानुनको आधारमा रही हाम्रो निर्णय हुनेछ । जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं ।

    एनसेल नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएको कम्पनी हो र ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको छ । ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो । हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार