Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • दोब्बर बढ्यो चीनतर्फको निर्यात

    दोब्बर बढ्यो चीनतर्फको निर्यात

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 795
    SHARES

    फाइल तस्विर

    काठमाडौं । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि बनाएको प्रोटोकल सजिलो बनाएकाले पनि निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

    भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० चीनमा एक अर्ब ७६ करोड ५७ लाख ८६ हजार रुपियाँको सामान निर्यात भएको छ । अघिल्लो आव २०७८/८० मा ८० करोड ८७ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको थियो । कोभिडको प्रभाव कम हुँदै गएको र चीनले नेपालको व्यापार सहज गरेकाले पनि निर्यातमा वृद्धि भएको हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले चीनमा व्यापार बढ्नु सकारात्मक भएको बताए ।



    कोभिडका कारण अघिल्लो वर्ष निर्यात न्यून थियो, गत वर्ष चीन सरकारले स्वदेशी सामान निर्यातमा लगाउँदै आएको प्रोटोकल लुज गरेकाले निर्यात बढ्न गएको हो । भारतपछिको ठुलो बजार चीन भएकाले स्वदेशी वस्तुको निर्यात बढाउने पर्याप्त सम्भावना भएकाले निर्यात बढाउनेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।



    “चीनकै अरू प्रान्तबाट सामान ल्याउनभन्दा नेपालबाट सामान लैजान नजिक पर्ने हुँदा लागत कम हुन्छ,” उनले भने, “क्वारेन्टाइनका मापदण्ड पूरा गर्न नसक्दा, अर्गानिक उत्पादनसँगै अन्य पूर्वाधार निर्माण गर्न नसक्दा निर्यातमा समस्या छ ।”

    विभागका अनुसार आव २०७७/७८ मा एक अर्ब एक करोड रुपियाँ बराबरको सामान निर्यात भएको थियो । यस्तै आव २०७५र७६ मा नेपालबाट दुई अर्ब सात करोड रुपियाँको सामान निर्यात भएको तथ्याङ्क छ ।

    चीन नेपालको वैदेशिक व्यापारको दोस्रो साझेदार मुलुक हो । चीनतर्फ निर्यात न्यून रहे पनि आयात भने उच्च परिणाममा हुने गरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ ।

    आव २०७९/८० चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड ५९ लाख रुपियाँको सामान आयात भएको छ । आव २०७८/७९ मा दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपियाँको सामान आयात भएको थियो । आव २०७७/७८ मा दुई खर्ब ३३ अर्ब रुपियाँको सामान आयात भएको तथ्याङ्क छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार