Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • लागु औषध नियन्त्रणमा आक्रामक बन्दै मालाखेती प्रहरी, एक महिनामै २५ जना पक्राउ

    लागु औषध नियन्त्रणमा आक्रामक बन्दै मालाखेती प्रहरी, एक महिनामै २५ जना पक्राउ

    १५ वटा मुद्दा दर्ता, २९ ग्राम ५२५ मिलिग्राम खैरो हेरोइन बरामद !

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 6K
    SHARES

    कैलाली । पछिल्लो समय कैलाली लागु औषध तस्करीको ट्रान्जिट बन्दै गएको छ । खुला सिमानाका कारण पछिल्लो समय कैलाली लागु औषध प्रयोगकर्ता तथा कारोबार गर्नेहरूको अखडा बन्दै गएको हो ।

    जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँ जसो लागु औषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागु औषधको त्यस्तो अवस्था बाहिर आएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले लागु औषधविरुद्धको महाअभियान केही महिनादेखि कैलालीसहित यस प्रदेशका ९ वटै जिल्लामा सञ्चालन गरिरहेको छ । तर पनि लागु औषध प्रयोगकर्ता तथा कारोबार गर्नेहरूको संख्यामा भने कमी आउन सकेको छैन ।



    यो अभियान कैलाली प्रहरीले पनि प्रभावकारी रुपमा कार्यान्वयन गरेको छ । लागु औषध सम्बन्धी सचेतना कार्यक्रम स्कुलदेखि गाउँ–गाउँसम्म सञ्चालन गर्दै आएको छ । तर पनि लागु औषध प्रयोगकर्ता तथा कारोबार गर्नेहरूको पक्राउ पर्ने संख्या भने घट्न सकेको छैन ।



    यता कैलालीको अत्तरियामा रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले पनि लागु औषधविरुद्धको महाअभियान कार्यक्रम प्रभावकारी रुपमा लागू गर्दै सचेतना कार्यक्रमदेखि लागु औषध प्रयोगकर्ता तथा कारोबार गर्नेहरूलाई धमाधम पक्राउ गर्दै आएको छ । लागु औषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले जिल्लाको ईलाका प्रहरी कार्यालय मालाखेती आक्रामक शैलीमा लागु औषध कारोबारी पक्राउ गर्न थालेको छ ।

    चालु आर्थिक वर्षको एक महिनामा मात्रै मालाखेती प्रहरीले लागु औषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न २५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गणेश बरालका अनुसार पक्राउ पर्नेमा २४ जना युवक र एक युवती रहेका छन् ।

    उनीहरूलाई गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट लागु औषधसहित पक्राउ गरिएको उनले बताए । उनीहरूको साथबाट २९ ग्राम ५२५ मिलिग्राम लागु औषध (खैरो हेरोइन) बरामद गरिएको डिएसपी बराल बताउँछन् । उनका अनुसार साउनमा लागु औषध सम्बन्धीका १५ वटा मुद्दा दर्ता भइसकेका छन् ।

    लागु औषध नियन्त्रण गर्न एक्लो प्रयासले सम्भव नभएको उनी सुनाउँछन् । यो लागु औषधको जालो सहरदेखि गाउँ टोलसम्म फैलिसकेको डिएसपी बरालको भनाई छ । विशेष गरी अभिभावकले सन्तानहरूको रेखदेख नगर्नु, खुला सिमानाका, साथीहरूको देखासिकी, देशमा बेरोजगार बढ्नु नै युवायुवतीहरू लागु औषधमा फस्नुको कारण रहेको उनले औँल्याए ।

    यस्तै गत आर्थिक वर्ष २०७९÷०८० मा ईलाका प्रहरी कार्यालय मालाखेतीले लागु औषधमा संलग्न ७८ जना पुरुष र ६ जना महिला गरी ८४ जना पक्राउ गरेको थियो । त्यसै गरी गत आर्थिक वर्षमा लागु औषधमा ५४ मुद्दा दर्ता भएकोमा ४५ वटा किनारा लागेका थिए भने ९ वटा चालु आर्थिक वर्षमा सारिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार