Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एनआरएनमा भाँडभैलो : भोटिङ प्रणाली नै कब्जामा लिएर बद्री केसीले जितेको भन्दै पुनः चुनाव गराउन माग

    एनआरएनमा भाँडभैलो : भोटिङ प्रणाली नै कब्जामा लिएर बद्री केसीले जितेको भन्दै पुनः चुनाव गराउन माग

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 840
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशनबाट बद्री केसी अध्यक्षमा निर्वाचित भएको घोषणा भएसँगै भाँडभैलो सुरु भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली नै कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् ।

    महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।



    निर्वाचन समितिले हिजो काठमाडौंस्थित सोल्टी होटदमा भएको निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको छ भने आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेको घोषणा गरेको छ ।



    रोचक पक्ष त के छ भने उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले पनि जितलाई स्वीकार नगर्ने बताएका छन् । उनले निर्वाचनमा धाँधली गरिएको दावी गरेका छन् ।

    मत परिणाम घोषणासँगै केसीका प्रतिस्पर्धी शर्मा र श्रेष्ठले नतिजा स्वीकार नगर्ने बताएका छन् । मतदातालाई सम्बोधन गर्दै प्रतिस्पर्धी श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।

    अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको भनाइ छ ।

    डा. बद्री केसी दुई वर्षयता एनआरएनमा अध्यक्ष थिए । त्यसअघि उनी उपाध्यक्ष र महासचिव थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । प्रतिस्पर्धी दुई उम्मेदवारले यसपटक प्रतिनिधि छनौट र अनलाइन भोटिङमा बद्रीले धाँधली गरेको आरोप लगाउँदै आएका थिए । बहालवाला अध्यक्ष भएका कारण महाधिवेशन र निर्वाचन प्रक्रिया मूलतः बद्रीको नियन्त्रणमा रहेको प्रतिस्पर्धीहरको दावी छ ।

    केसी यसअघि पनि पटक–पटक विवादमा आएका व्यक्ति हुन् । अमेरिकामा गैरआवासीय नेपाली नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) को शपथ ग्रहण कार्यक्रममा पनि उनले बबण्डर मच्चाएका थिए । तर, अमेरिकाको नव निर्वाचित कार्य समितिलाई शपथ नै गर्न नदिने केसीको षड्यन्त्र असफल भएको थियो ।

    केसी आइएलओले एनआरएनएलाई प्रदान गरेको रकम घोटालामा समेत मुछिएका छन्। आइएलओ परियोजनामा भ्रस्टाचारका साथै एमआइएस प्रणालीका नाममा एनआरएनए कब्जा गर्न केसीमाथि गिरोह नै परिचालन गरेको आरोप लागेको थियो ।

    निर्वाचन समितिका अनुसार संघको महासचिवमा बद्री पक्षकै गौरीराज जोशी निर्वाचित भएका छन् भने उपाध्यक्षमा हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, राज रेग्मी र विनोद श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी उपमहासचिवमा सोम सापकोट र प्रवीण गुरुङ निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार