Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एनसेल विक्रीसँगै प्राधिकरणको अध्यक्ष हटाउने खेल, यी हुन् पर्दा पछाडिका खेलाडी

    एनसेल विक्रीसँगै प्राधिकरणको अध्यक्ष हटाउने खेल, यी हुन् पर्दा पछाडिका खेलाडी

    अनलाइन नेपाल
  • शुक्रबार, १५ मंसिर २०८०
  • 34.2K
    SHARES

    काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटा ग्रुप बहार्डले एनसेलको ८० प्रतिशत सेयर बेचेर नेपालबाट बाहिरिने बताएसँगै नेपालको दूरसञ्चार क्षेत्रमा हलचल मच्चिएको छ ।

    एसियाको अग्रणी दूरसञ्चार ग्रुपका रुपमा स्थापित आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भन्दै बाहिरिने निर्णय गरेको थियो ।



    आजियाटाले ५० प्रतिशत रकम डाउन गरी आफ्नो सेयर बेच्न खोजिरहेको छ । कम्पनी घाटामा गएको देखाएर आजियाटा सरकारलाई तिर्नुपर्ने दायित्वबाट समेत पन्छिन खोजेको छ ।



    पाँच वर्षपछि नेपालमा कम्पनी नविकरण गर्दा ३० अर्वसम्म खर्च गर्नुपर्ने भएपछि आजियाटाले अहिले नै नेपाल छाड्ने जनाएको हो । नेपाल सरकारलाई तिर्नुपर्ने अरबौं लाभकर नतिरी बसेको आजियाटा अहिले कम्पनी घाटामा गएको देखाएर नेपालबाट बाहिरिन खोजेको हो ।

    दूरसञ्चार ऐन, २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनको अनुमति लिएका कम्पनीको लाइसेन्स अवधि २५ वर्षको हुन्छ । २५ वर्षपछि ५० प्रतिशत भन्दा बढी विदेशी लगानी भएका कम्पनी पूर्णरुपमा सरकारी स्वामित्वमा आउने व्यवस्था ऐनमा छ ।

    यसअनुसार सन् २००४ मा स्थापना भएको एनसेल अबको करिब ६ वर्षपछि सरकारी स्वामित्वमा आउनेछ । जसका कारण पनि अजियाटा नेपालबाट अहिले नै बाहिरिन खोजेको हो ।

    सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो । त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

    सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा ।

    सन् २०१६ को अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर १ खर्ब ४२ अर्बमा खरिद गरेको थियो । सन् २०१८ मा फोरजी सेवा सुरु गरेको एनसेलले २०२० अगस्ट ३ देखि कम्पनीको नाम एनसेल आजियाटा लिमिटेड राखेको छ ।

    एनसेलमा ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको लगानी छ । सुनिभेरा क्यापिटल सतिशलाल आचार्य र सचिनलाल आचार्यको स्वामित्वमा रहेको कम्पनी हो ।

    आजियाटा बाहिरिनु उसको निजी अधिकारको विषय भएपनि त्यसमा ठूलो चलखेल हुनुलाई संयोग मात्र मान्न सकिन्न । आजियाटाले बाहिरिने निर्णय गरेसँगै नेपालका ब्यापारिक समूहहरु सेयर किन्न लागिपरेका छन् । २० प्रतिशत लगानी रहेको सुनिभेरा क्यापिटलले नै बाँकी सबै सेयर हत्याउन खोजेको चर्चा पनि छ ।

    त्यसैगरी पटक–पटक दूरसञ्चार कम्पनी सञ्चालन गर्नबाट बञ्चित हुँदै आएका नेपाली कांग्रेसका सांसद समेत रहेका ब्यापारी विनोद चौधरी पनि आजियाटाको सेयर किन्न लागि परेका छन् । बैकिङ र हस्पिटालिटी क्षेत्रमा लगानी गर्दै आएका चन्द्र ढकाल पनि भित्र भित्रै सस्तोमा पाए एनसेलको ८० प्रतिशत सेयर किन्न लागिपरेको स्रोतको दावी छ ।

    तत्कालिन मेरो मोवाइलका सञ्चालक उपेन्द्र महतोले पनि सेयर किन्ने इच्छा देखाएको व्यापारीहरुबीच नै चर्चा छ । तर, उनले सुनिभेरा क्यापिटल भेन्चरलाई नै २० प्रतिशत सेयर बेच्ने निरज गोविन्द श्रेष्ठलाई अघि सारेर काम गरिरहेका छन् । उनीहरुले सिंगापुरको कम्पनी भित्र्याएर सेयर खरिद गर्न चलखेल गरिरहेका छन् ।

    तर, यी सबै खेल अथवा आजियाटाको शेयर खरिद विक्रीको पर्दा पछिडिका पात्र हुन्, भुपेन्द्र भण्डारी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र उनका श्रीमान कृष्णध्वज खड्का निकट रहेका भण्डारी पहिले बुरुण्डीमा रहेको आजियाटा कम्पनीमा सेल्स म्यानेजर भएर काम गरेका व्यक्ति हुन् । अहिले उनी मन्त्री शर्माका आइटी सल्लाहकार पनि हुन् ।

    विदेशमा रहेका भण्डारीलाई नेपाल भित्र्याएर एनसेलको सेयर विक्रीमा उथलपुथल ल्याउने पर्दा पछाडिका पात्र मन्त्री शर्माका श्रीमान् श्रीमतीसँगै आचार्य दाजुभाइ नै हुन् । आचार्य दाजुभाइ यतिबेला ५० प्रतिशत कम मूल्यांकन गरी एनसेलको शेयर हत्याउन लागि परेका छन् । ५५ अर्बसम्म लगानी गरी ८० प्रतिशत शेयर हत्याउन आचर्य दाजुभाइसहितका ब्यापारीहरु लागि परेका हुन् । तर, उक्त डिल नेपाल सरकारले स्वीकार गर्छ वा गर्दैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

    मन्त्रालय निकट स्रोतका अनुसार भण्डारीलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाएर मन्त्रीका श्रीमान् श्रीमती र आचार्य दाजुभाइले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेका छन् । एकातिर एनसेलको शेयर खरिद विक्री र अर्कोतिर प्राधिकरणका अध्यक्षमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका बेला अध्यक्ष नै फेर्न चलखेल भएको हो ।

    आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्समा झन्डै ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । यद्यपी हालका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सञ्चारमन्त्री हुँदा टेरामाक्स खरिद भएको थियो । त्यतिबेला प्राधिकरणका अध्यक्ष थिए दिगम्बर झा । टेरामक्स प्रकरण देखाएर खनाललाई अध्यक्षबाट हटाई भण्डारीलाई अध्यक्ष बनाउन सञ्चारमन्त्री रेखा शर्मा नै लागिपरेको मन्त्रालय स्रोतको दावी छ । मन्त्री शर्माले भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालसँग पनि भेट गराइसकेको स्रोत बताउँछ ।

    दूरसञ्चार प्राधिकरणको अध्यक्ष नै परिवर्तन गरी एनसेलको बहुमत सेयर हत्याएर स्वार्थपूर्ति गर्न लागि परेको आचार्य दाजुभाईलाई सञ्चारमन्त्रीले नै साथ दिएको चाल पाएपछि एनसेलको सेयर किन्न खोजिरहेका ठूला ब्यापारीहरु अर्कोतिर शसंकित पनि छन् ।

    यसरी एनसेललाई अगाडि बढाएर सरकारी स्वामित्वको नेपाल टेलिकमलाई डुबाउन मन्त्री शर्मा र भण्डारी लागिपरेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार