Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आरजुको नाम लिंदै ठेक्कामा सेटिङ, मन्त्रीका आफन्तकोमा ठेकेदारको लर्को

    आरजुको नाम लिंदै ठेक्कामा सेटिङ, मन्त्रीका आफन्तकोमा ठेकेदारको लर्को

    अनलाइन नेपाल
  • आइतबार, १५ पुष २०८०
  • 2K
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद पुनगर्ठन हुने चर्चासँगै अर्थमन्त्री डा. प्रकाशशरण महत र सहरी विकास मन्त्री सीता गुरुङका परिवारका सदस्यहरु कमाउधन्दामा लिप्त हुन थालेका छन् ।

    मन्त्री महतकी श्रीमती विना महतले बहुबर्षीय ठेक्काको बजेट सुनिनिश्चित गर्नेदेखि काम सम्पन्न भएका ठेकेदारहरुको भुक्तानी गराइदिने भनेर घरमै मोलमोलाई गरेको बिषयमा अनलाइन नेपालले समाचार लेखिसकेको छ । अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख उत्तर खत्रीमार्फत् बिना महतले ठेकेदारका काम गराउँदैआएकी छन् ।



    कांग्रेस सभापति डा. आरजु राणा देउवाको नाम लिएर महतले घरमै बोलाएर ठेकेदारहरुसँग डिल गर्दैआएकी छन् । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा कांग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशन मन्त्री महतले नमानेको आरोप छ ।



    सभापति देउवाले कृष्णप्रसाद आचार्यलाई नियुक्ति गर्नू भने पनि महतले उनको नाम सर्टलिष्टमै निकाल्न दिएनन् । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेका ज्वाई आचार्य कर्मचारी संचयकोषका पूर्व प्रमुख हुन् भने एनआइडीसीको पनि उनी पूर्व महाप्रबन्धक थिए । उनी नेपाल बैंकमा नियुक्ति नभएपछि बेतन कर्णाली हाइड्रोपावरको सीईओ नियुक्त भएका छन् ।

    त्यसो त सहरी विकास मन्त्री सीता गुरुङले पति दिल गुरुङ र दाजु भगिमान गुरुङमार्फत् ठेक्कापट्टामा प्रतिशत तोक्दै मागिरहेकी छन् । पूर्वसचिव रविन्द्रनाथ श्रेष्ठसँग मिलेर पति दिल र दाजु भगिमानले सहरी विकास अन्तर्गतका ठेक्कामा ठेकेदारहरुसँग मोलमोलाई गरेको आरोप छ ।

    त्यसैगरी सहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ठेक्का बहुबर्षीय भएकाले अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्नुपर्छ । सहरी विकास मन्त्री सीतासँग सेटिङ मिलाएर हतार हतार आर्थिक प्रस्ताव खोले पनि बजेटको अझै सुनिश्चितता हुनसकेको छैन ।

    बजेट सुनिश्चित गर्नका लागि कन्ट्याक्ट कन्ष्ट्रक्सनका संचालक प्रमोद अधिकारी र केसी निर्माण सेवाका म्यानेजर बिजय मानन्धर मन्त्रीपत्नी बिनासँग डिल गरिरहेको स्रोतको दाबी छ । ३ अर्ब ३३ करोड रुपैयाँको यो ठेक्काको बजेट सुनिश्चितता नहुँदै आर्थिक प्रस्ताव खोल्नका लागि मन्त्री सीता गुरुङले गएको मंसिर अन्तिम साता कोप सम्मेलनमा दुबईमा हुँदा नै दबाब दिएकी थिइन् ।

    संघीय सहरी आयोजना काठमाडौंले मन्त्री सीताकै दबाबमा आर्थिक प्रस्ताव खोलेको थियो । प्रमोद अधिकारी सेटिङमा निपूर्ण बिजय मानन्धरलाई लिएर अर्थमन्त्री पत्नी बिना र सहरी विकास मन्त्री सीता गुरुङकोमा धाइरहेका छन् । कन्ट्याक्ट कन्ष्ट्रक्सनका संचालक किया मोटरका मालिक सुहृद घिमिरे हुन् ।

    उनी भने सरुवा रोग अस्पतालको ठेक्का सेटिङबारे आफूलाई जानकारी नभएको जस्तै गरिरहेका छन् । ललिता निवास जग्गा प्रकरणमा घिमिरे पनि मुख्य पात्रमा पर्दछन् । उनले सासु इन्दु शर्माका नाममा १५ रोपनी ललिता निवासको जग्गा दर्ता गरेको मुद्दा अख्तियारले विशेष अदालतमा दायर गरिसकेको छ ।

    सरुवा रोगको यो ठेक्का सेटिङबारे जानकारी नै नपाएकी आरजु राणाको नाम लिंदै यो काम फत्ते गर्न लागिएको छ । तर अर्थ र सहरी दुवैतिरको सेटिङमा ठेक्कामा चलखेल भएको सूचना उनीसम्म पुगिसकेको स्रोतको दाबी छ ।

    सिंहदरबारस्थित संसद भवनको ठेक्कामा पनि मन्त्री सीता गुरुङको यो टोलीले सहमति भएको कमिसन नपाएपछि ठेक्का नै रद्द गर्ने तहमा ओर्लिएकी थिइन्. । तर पछि क्षमादेवीले उनको मागबमोजिम दिने भएपछि कुरा मिलिसकेको छ । क्षमादेवी ग्रुपका संचालक राजकुमार बस्नेतले सेटिङ मिलाइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार