Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रहरीमा ठेकेदार मिश्रको सेटिङमा हिमाली आइटमको टेण्डर, गृहमन्त्री बेखबर !

    प्रहरीमा ठेकेदार मिश्रको सेटिङमा हिमाली आइटमको टेण्डर, गृहमन्त्री बेखबर !

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले हिमाली जिल्लाका लागि आवश्यक पार्का ज्याकेट, बुट लगायतका सामान (स्नो आइटम) खरिदको टेण्डर सूचना निकालेको छ । स्नो आइटमको टेण्डर सेटिङमा निश्चित ठेकेदारको नमूनासँग मिल्नेगरी निकालिएको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार जेएमबीडी इन्टरनेशनलका राजमान मिश्रको सेटिङमा उनले नै दिएको नमूनासँग मिल्नेगरी टेण्डर निकालिएको छ ।



    बिदा बाहेक अब १२ दिनपछि अवकाश हुन लागेकी प्रहरीको प्रशासन विभागकी एआईजी मिरा चौधरीले जाँदाजाँदै ठेकेदार मिश्रको कम्पनीलाई दिनेगरी सेटिङमा स्नो आइटमको टेण्डर निकालेको आरोप छ ।



    करिब ३ महिनाअघि पनि नेपाल प्रहरीले स्नो आइटमको टेण्डर निकालेको थियो । उक्त टेण्डरमा सेटिङमै मिश्रको कम्पनीले मात्र माग लिएको थियो । मिश्रको कम्पनीले मात्र टेण्डर बिड गरेकाले प्रतिस्पर्धा नहुने भएपछि उनले पहिले नै फेल भइसकेको नमूना पेश गरेका थिए ।

    आफ्नो मात्र बोलपत्र परेकाले प्रहरीले राम्रोसँग चेक गर्दैन भनेर मिश्रले फेल नमूना पेश गरेका थिए । तर गुणस्तर फेल भएको स्नो आइटमको नमूना पेश गरी आपूर्ति गर्न खोजेको सूचना आईजीपी बसन्तबहादुर कुँवरले पाएपछि तत्काल रद्द गर्न निर्देशन दिए । आईजीपीको निर्देशनपछि टेण्डर रद्द भयो ।

    अहिले फेरि स्नो आइटमको टेण्डर प्रहरीले निकालेको छ । स्पेक नै मिश्रको नमूना अनुसार परिवर्तन गरी टेण्डर सूचना निकालिएको छ । जुन स्पेक मिश्रले दिएको छ, त्यही नमूना राखेर निकालेको स्रोतको दाबी छ ।

    मिश्रसँगको सेटिङमै प्रशासन विभागकी एआईजी मिरा चौधरीले जाँदाजाँदै यो टेण्डर निकालेको आरोप छ । अघिल्लो वर्ष २१ वटा जिल्लामा बजेट पठाएर मिश्रकै कम्पनीबाट विनाटेण्डर स्नो आइटम खरिद गरिएको थियो ।

    प्रहरी प्रधान कार्यालयबाट खरिद गर्दा बोलपत्रबाट प्रतिस्पर्धा गराउनुपर्ने, गुणस्तर परीक्षण गराउनुपर्ने भएपछि सार्वजनिक खरिद ऐनको छिद्र प्रयोग गरी जिल्ला जिल्लाबाट खरिद गरेको देखाई मिश्रकै कम्पनीबाट स्नो आइटम खरिद गरिएको थियो ।

    जिल्ला जिल्लामा बजेट पठाएर विना प्रतिस्पर्धा गुणस्तरहीन स्नो आइटम सेटिङमा खरिद गरिएकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त उजुरीमा छानबिन भइरहेको छ । सोलुखुम्बुदेखि मनाङ मुस्ताङसम्मका २ सय ५६ सिपाहीले बयान दिनुपरेको छ ।

    मिश्रको कम्पनीसँग सेटिङमा जिल्ला जिल्लाबाट खरिद गरी कमिसन प्रशासन विभाग र प्रबन्धका हाकिमहरुले खाए, तर बयान भने ती निर्दोष सिपाहीहरुले दिनुपरेको छ ।

    मिश्रले स्नो आइटमदेखि विभिन्न ठेक्कामा आफ्नो कम्पनीलाई मात्र दिने व्यवस्था मिलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई अगाडि सार्ने गरेका छन् ।

    श्रेष्ठले अनलाइन नेपालसँग कुरा गर्दै आफुले मिश्रसँग कुनै काम नगरेको वताए।

    प्रहरी, सशस्त्र र सेनामा सेटिङमा ठेक्का लिएर अकूत कमाएका उनले रास्वपा उदाएपछि उक्त पार्टीको निकट देखाउन खोजेको अर्थमा लिइएको छ ।

    डीएसपीबाट एसपी बढुवामा एक नम्बरकै डीएसपी छुटेपछि आलोचना खेपिरहेका गृहमन्त्री रवि लामिछाने प्रहरीभित्रको यो सेटिङको बारेमा जानकार छन् वा छैनन् ? अहिले प्रहरी भित्रैबाट प्रश्न उठ्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार