काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको टी-२०आई शृंखलाअन्तर्गतको अन्तिम खेल आज मंगलबार हुँदैछ । खेल नेपाली समयअनुसार राति सवा ८ बजे यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा हुनेछ।
दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ भने आज क्लिन स्वीप गर्ने मौका छ। अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

युनिटी कपअन्तर्गत युएईको शारजाहमा हिजो भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै शृंखला कब्जा गरेको थियो। यसअघि पहिलो खेल नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।
१७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १७.१ ओभरमा ८३ रन बनाएर अलआउट भयो। वेस्ट इन्डिजका लागि ज्यासन होल्डरले सर्वाधिक २१ रन बनाए। त्यस्तै अकिम अगस्टीले १७ र अमिर जांगुले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालका लागि आदिल आलमले सर्वाधिक ४ विकेट लिए। त्यस्तै कुशल भुर्तेलले ३, दीपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजबंशीले १-१ विकेट लिए।
त्यसअघि आसिफ शेख र सन्दीप जोराको अर्धसतकमा नेपालले ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६८ रन बनाए। उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै सन्दीप जोराले ६३ रन बनाए। ३९ बलमा उनले ३ चौका र ५ छक्का प्रहार गरे।
त्यस्तै आदिल आलम ५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अन्तिम बलमा एलबी डब्लु आउट भए। त्यसअघि कुशल भुर्तेल २ रन, कप्तान रोहित पौडेल ३ रन, कुशल मल्ल ७ रन र गुल्शन झा ६ रनमा आउट भएका थिए। वेस्ट इन्डिजका लागि अकिल हुसेन र किले मेयर्सले २-२ विकेट र जेडिह ब्लाड्स १ विकेट लिए।
युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो ।
नेपालले आज क्लिनस्वीप गर्न सकेमा टेस्ट राष्ट्रविरुद्ध अर्को कीर्तिमानी जित हुनेछ ।