काठमाडौं । सरकारले सात जना सहसचिवको सरुवा गरेको छ। गत असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सेवासहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरकारको निर्णयअनुसार प्रशासन सेवाका रुद्रसिंह तामाङ ऊर्जा मन्त्रालयमा, शम्भुप्रसाद मरासिनी उद्योग मन्त्रालयमा, गजेन्द्रकुमार ठाकुर अर्थ मन्त्रालयमा, जीवलाल भुसाल कृषि मन्त्रालयमा र छविन्द्र पराजुली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।
त्यसैगरी काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।
भिजिट भिसा प्रकरणमा छानबिनमा परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई पनि सोही मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।
मन्त्रिपरिषद्को यो निर्णयलाई प्रशासनिक संरचना सुदृढीकरण र कार्यगत कार्यक्षमता वृद्धिको प्रयासका रूपमा हेरिएको छ।